राष्ट्रिय महिला आयोगले सरकारमा महिलाको सहभागिता न्यून भएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै मन्त्रिमण्डलमा महिला सहभागिता न्यून भएकोमा असन्तुष्टि जनाएको हो।
आयोगका अध्यक्ष कमला पराजुलीद्वारा जारी विज्ञप्तिमा मन्त्रिमण्डलमा समानुपातिक समावेशिता नभएको र यसले महिलाहरूलाई अवसरबाट वञ्चित गरेको उल्लेख छ।
विज्ञप्तिमा संविधानको भाग- ३ धारा ३८ को उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुने आयोगले स्मरण गराएको छ।
आयोगले असार ३१ मा गठन भएको २२ सदस्यीय मन्त्रिमण्डलमा संविधानमा व्यवस्था भए अनुरुप समावेशी सिद्धान्तको आधारमा सहभागी नगराई जम्मा २ जना (९प्रतिशत) मात्रै महिला मन्त्री नियुक्त हुनुले संविधानमा गरिएको व्यवस्थालाई समेत राजनैतिक पार्टीहरूबाट बेवास्ता गरेर महिला नेतृत्वलाई अवसरबाट वञ्चित गरिएको जनाएको छ।
Shares
प्रतिक्रिया