ad ad

राजनीति


‘स्काउटको ड्रेसमा बाँसबारी जुत्ता लाएर बालमन्दिर हुँदै टीकापुर हिँडेको नक्कली भुटानी बन्धु भन्ने आँट नगरुन्’

‘स्काउटको ड्रेसमा बाँसबारी जुत्ता लाएर बालमन्दिर हुँदै टीकापुर हिँडेको नक्कली भुटानी बन्धु भन्ने आँट नगरुन्’

नेपालखबर
साउन १४, २०८१ सोमबार १७:२९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई ‘सहकारी बन्धु’ भने लगाइएको आरोपमाथि आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले ‘सहकारी बन्धु’को भाषा बन्द भएको हेर्न नचाहने बताए। 

‘यही सदनमा सहकारी बन्धुको भाषा बोलेका साथीहरूले अब सहकारी बन्धुको भाषा बन्द गरेको  हामी हेर्न चाहँदैनौँ,’ उनले भने। 

साथै, उनले स्काउट जग्गा प्रकरण, बाँसबारी जग्गा प्रकरण, बाल मन्दिर जग्गा प्रकरण, टिकापुर र  नक्कली भुटानी शरणार्थी प्रकरणबारे पनि प्रश्न गरे। 

उनले भनेका छन्, ‘सहकारी बन्धुमात्रै नभनुन् स्काउट ड्रेसमा बाँसबारी जुत्ता लगाएर बाल मन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानी बन्धु भन्ने आँट गरुन्। यतिमात्रै निवेदन गर्न चाहन्छु।’

उनले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफूमाथि लगाएको आरोप पुष्टि गर्न पुनः चुनौती दिएका छन्। 

‘तपाईं (गगन थापा) ले आफैँले निवेदन दिएर हस्ताक्षर गरेर ऋण मागेको प्रमाण म सँग छ भन्नुभएको थियो, मैले त्यतिबेला पनि भनेको थिएँ, त्यो प्रमाण तपाईंले बाटोमा जहाँ फालिदिए पनि हुन्छ म राजनीति छाड्दिन्छु,’ लामिछानेले भने, ‘मैले आजसम्म त्यो प्रमाण पाउन सकेको छैन। यसरी सदनलाई झुक्याउने? मित्थ्या सूचना दिने? ठूला ठूला काण्डमा गलत सूचना दिएर संसद् र राष्ट्रलाई भ्रममा पार्ने काम नगरियोस्।’

संसद्मा केही समय नबोल्ने तयारीमा आफू रहेको भए पनि आइतबार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विषयान्तर गर्दै भनाइ राखेपछि आज बोलेको उनले बताए। 

‘म केही समय नबोल्ने पक्षमा थिएँ। तर, हिजो जसरी यहाँ अभिव्यक्ति आए त्यसले मलाई केही कुरा प्रष्ट पार्न बाध्य बनायो,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .