ad ad

राजनीति


कृष्णप्रसाद ओली : चीनमा ‘भिजिटिङ प्रोफेसर’, चीनमै राजदूत

कृष्णप्रसाद ओली : चीनमा ‘भिजिटिङ प्रोफेसर’, चीनमै राजदूत

डा कृष्णप्रसाद ओली झापाकै बासिन्दा हुन्


नेपालखबर
साउन १५, २०८१ मंगलबार ६:४६, काठमाडौँ

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले एकैपटक १९ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ। 

सत्तारुढ दलको सिफारिसमा हुने ‘राजनीतिक नियुक्ति’ र परराष्ट्र मन्त्रालयका ‘करिअर डिप्लोम्याट’ सहित एकैपटक १८ जना राजदूतमा सिफारिस भएका हुन्। एकैपटक यति धेरै संख्यामा राजदूत सिफारिस भएको यो पहिलो नभए पनि दुर्लभ निर्णय भने हो। 

त्यसमा पनि यसपटक दुई छिमेकी देश– भारत र चीन तथा शक्ति राष्ट्रहरू अमेरिका, रुस र बेलायतमा पनि राजदूत एकसाथ सिफारिस भएका छन्। भारतमा यसअघिका राजदूत डा शंकर शर्मालाई पुनः सिफारिस गरिएको छ भने चीनमा डा कृष्णप्रसाद ओली सिफारिस भएका छन्। त्यस्तै अमेरिकामा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र बेलायतमा पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन्। यीमध्ये शर्मा, रेग्मी र घिमिरे चिनिएकै नाम हुन् तर धेरैलाई ओली को हुन् भन्ने जिज्ञासा जागेको छ। 

डा कृष्णप्रसाद ओली झापाकै बासिन्दा हुन्, जो प्रधानमन्त्री केपी शर्मा ओलीका नजिकका नातेदार हुन्। प्रधानमन्त्री ओलीले कृष्णप्रसादलाई काका सम्बोधन गर्छन्, ढोगभेट पनि गर्छन्। 

लामो समय चीनमै बसेर अध्ययन अनुसन्धान गरेका भए पनि डा ओली काठमाडौँमा बिल्कुलै नयाँ नाम भने होइनन्। केपी ओली प्रधानमन्त्री रहेकै बेला उनी राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए, सन् २०१७ मा। त्यसपछि प्रधानमन्त्री ओलीले आफू सरकारबाट बाहिरिनुअघि २०७८ वैशाखमा डा ओलीलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गरेका थिए। 

डा ओली वन तथा वातावरण क्षेत्रका विज्ञ हुन्। विकास र वातावरण संरक्षणको क्षेत्रमा उनको ३५–४० वर्ष लामो अनुभव रहेको छ। खासगरी हिन्दु–कुश हिमालय क्षेत्रमा ओलीको विज्ञता रहेको छ। उनी वातावरणीय कानुन, वातावरणीय योजना र व्यवस्थापन तथा कृषि भूगोल र पशु विज्ञानका विज्ञ हुन्।

एसियाली विकास बैंक लगायतका संस्थामा उनले परामर्शदाता भएर काम गरेका छन्।

चीनको सिचुवान विश्वविद्यालयमा ओली सन् २०१६ देखि अन्तर्राष्ट्रिय वातावरण कानुन विषयका ‘भिजिटिङ प्रोफेसर’ थिए। सिचुवानसँगै उनी चीनकै सिजाङ (तिब्बत) विश्वविद्यालयका सहायक प्रोफेसर तथा काठमाडौं स्कुल अफ लका ‘भिजिटिङ प्रोफेसर’ हुन्। 

उनले इसिमोडमा वरिष्ठ इकोसिस्टम व्यवस्थापन विशेषज्ञका रुपमा ९ वर्ष काम गरेका थिए। त्रिभुवन विश्वविद्यालयबाट पहाडी क्षेत्रमा भूमि प्रयोग, परिवर्तनको गतिशीलता र स्थिरता विषयमा पीएचडी गरेका उनले मास्टर्सचाहिँ बेलायतबाट गरेका हुन्।   

चीनमा लामो समय बिताएका र बाक्लै आहोरदोहोर गरिरहने डा ओली चीन राम्रो बुझेका व्यक्ति हुन् तर उनको विज्ञता र अनुभव कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध होइन। 

बेइजिङको सान ली थुनस्थित नेपाली दूतावासमा अबका केही सातामा डा कृष्णप्रसाद ओलीले विष्णुपुकार श्रेष्ठको उत्तराधिकारीका रुपमा राजदूतको जिम्मेवारी सम्हाल्नेछन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .