ad ad

राजनीति


मुकुलको आक्रोश- रवि आफैँ रावण बने र मलाई उल्टै विभीषण बनेको आरोप लगाए

‘मैले मूलतः तीन कुराका लागि संघर्ष सुरु गरेको हो’
मुकुलको आक्रोश- रवि आफैँ रावण बने र मलाई उल्टै विभीषण बनेको आरोप लगाए

नेपालखबर
साउन १८, २०८१ शुक्रबार ११:३१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालयमा दुईदिने कार्यशाला सुरु गरेकै दिन निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूलाई छापामार शैलीमा निकालिएको गुनासो गरेका छन्। 

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै ढकालले आफैँले स्थापना गरेको पार्टीविरुद्ध आफू लागेको भन्ने भाष्य सिर्जना गर्न खोजिएको दुखेसो गरेका हुन्।

यस क्रममा उनले सदाझैँ पार्टी सभापति रवि लामिछानेविरुद्ध आक्रोश पनि पोखेका छन्।   

‘प्रचण्ड र ओलीसँग ऊ आफू मिल्ने, देउवासँग प्रधानमन्त्रीका लागि भित्रभित्रै बार्गेनिङ आफू गर्ने तर उल्टै कांग्रेस–एमाले–माओवादीबाट परिचालित भनेर आरोपचैँ ममाथि लगाएका छन्’, ढकालले लेखेका छन्, ‘अझ केही झुन्डहरू परिचालित गरेर मलाई आफैँले स्थापना गरेको पार्टीविरुद्ध परिचालित भयो भन्ने भाष्य सिर्जना गर्न लागिपरेका छन्। म लक्ष्मण बनेर आफ्नो कर्तव्य पूरा गरिरहेको थिएँ, तर उनी आफैँ रावण बने र मलाई उल्टै विभीषण बनेको आरोप लगाए।’

यसपटक मुकुलले आफूबाट पनि केही गल्ती भएको स्वीकार गरेका छन्। तर प्रस्तुतिमा केही त्रुटि भए पनि आफूले बोलेका कुरा सत्य भएको जिकिर उनले गरेका छन्। 

‘ममाथि छापामार शैलीमा राजनीतिक आक्रमण हुँदा प्रतिरक्षाका क्रममा मबाट अनजानमा केही गल्ती भएकै छ। प्रस्तुतिमा शैलीजन्य केही त्रुटिहरू प्रतिरक्षाका क्रममा मबाट भएकै छन् तर मैले यो बीचमा जे जति कुराहरू बोलेको छु, एक शब्द झुटो बोलेको छैन र मैले झुटो बोलेको छैन भनेर साबित गर्न जुनसुकै परीक्षण दिन पनि तयार छ’, ढकालको जिकिर छ, ‘सत्यलाई सधैँ लुकाउन पक्कै पनि सकिँदैन। कतिपय कुराहरू त समयक्रमसँगै प्रमाणित हुँदै गएका छन्, कतिपय हुँदै जाने छन्।’

यस्तो छ उनको पूरा वक्तव्य-

प्रिय राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य एवं शुभचिन्तकहरू, 
राष्ट्रिय स्वतन्त्र पार्टीलाई रवि लामिछाने क्लबबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनका लागि मैले पार्टीको आन्तरिक जीवनमा संघर्ष उद्घोष गर्नेबित्तिकै मलाई रवि लामिछाने क्लबले पार्टीबाट अवैधानिक ढंगले छापामार शैलीमा निष्कासन गर्‍यो। मलाई आफैँले बनाएको पार्टीबाट क्लबले अवैधानिक ढंगबाट निष्कासन गरेपछि हाल म निर्वाचन आयोगमा न्याय निरुपणका लागि पुगेको छु। प्रचण्ड र ओलीसँग ऊ आफू मिल्ने, देउवासँग प्रधानमन्त्रीका लागि भित्रभित्रै बार्गेनिङ आफू गर्ने तर उल्टै कांग्रेस-एमाले-माओवादीबाट परिचालित भनेर आरोपचैँ ममाथि लगाएका छन्। अझ केही झुन्डहरू परिचालित गरेर मलाई आफैँले स्थापना गरेको पार्टीविरुद्ध परिचालित भयो भन्ने भाष्य सिर्जना गर्न लागिपरेका छन्। म लक्ष्मण बनेर आफ्नो कर्तव्य पूरा गरिरहेको थिएँ, तर उनी आफैँ रावण बने र मलाई उल्टै विभीषण बनेको आरोप लगाए। 

प्रिय साथीहरू, ममाथि छापामार शैलीमा राजनीतिक आक्रमण हुँदा प्रतिरक्षाका क्रममा मबाट अनजानमा केही गल्ती भएकै छ। प्रस्तुतिमा शैलीजन्य केही त्रुटिहरू प्रतिरक्षाका क्रममा मबाट भएकै छन् तर मैले यो बीचमा जे जति कुराहरू बोलेको छु, एक शब्द झुटो बोलेको छैन र मैले झुटो बोलेको छैन भनेर साबित गर्न जुनसुकै परीक्षण दिन पनि तयार छु। सत्यलाई सधैँ लुकाउन पक्कै पनि सकिँदैन। कतिपय कुराहरू त समयक्रमसँगै प्रमाणित हुँदै गएका छन्, कतिपय हुँदै जाने छन्।

साथीहरू, पार्टीमा मैले तल उल्लिखित मूलत: तीन कुराहरूका लागि संघर्ष सुरु गरेको हो। यी तीन कुराहरू गरे राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने क्लबबाट राष्ट्रिय स्वतन्त्र पार्टी बन्छ। क्लबबाट पार्टी बन्ने मात्र होइन, यसले नेपाली जनताको आशालाई जोगाउँदै, त्यसलाई भरोसामा बदल्छ।

१. राष्ट्रियता
कहिले सेनाको बारेमा, कहिले मनरो डक्ट्रिन त कहिले भुटानी करण गरेर पटक पटक राष्ट्रघाती एवं देशद्रोही अभिव्यक्ति दिइरहेका व्यक्तिलाई पार्टीबाट बर्खास्त गरी पार्टीलाई राष्ट्रियताको पक्षमा सदा अडिग रहने शक्तिको रूपमा विकास गर्नपर्छ।

२. पारदर्शिता र जवाफदेहिता
पार्टीको आर्थिक हिसाबकिताब पारदर्शी हुनपर्छ। त्यस्तै, पार्टीको निर्णय प्रक्रियालाई पारदर्शी र जवाफदेही बनाउनपर्छ। पार्टी सभापतिमाथि लागेका सबै आरोपहरू उपर पार्टीभित्रै स्वतन्त्र छानबिन समिति गठन भई उहाँ पनि आफ्नो विगतप्रति पार्टी र जनतासामु पारदर्शी र जवाफदेही हुनपर्छ। पार्टीमा कोही पनि प्रश्न माथि छैन भन्ने थिति बसाल्नपर्छ।

३. वैकल्पिक शक्तिको एकीकरण
हिजोका दिनमा हात उठाएका आधारमा केही साथीहरू जोडिए । कति पय साथीहरू छुट्नु भयो । अब सम्पूर्ण वैकल्पिक एवं स्वतन्त्र शक्तिहरूलाई एकीकरण गरी वृहत् नागरिक सभाको माध्यमबाट राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्गठन गर्नपर्छ । समीक्षा प्रतिवेदनमा उठाइएका पार्टी सुधारका विषयहरूलाई समेटेर नवीन पार्टी निर्माण गर्न सकिन्छ ।  २०८४ को चुनावलाई लक्ष्यमा राखी पुराना राजनीतिक शक्तिहरू विरुद्ध सम्पूर्ण वैकल्पिक एवं स्वतन्त्र शक्तिहरू एक भई नेपाली जनताको सुशासन र विकासको आकांक्षा पूरा गर्नका लागी पारदर्शिता , जबाफदेहिता र नैतिकताको मूल मन्त्रसहित होमिनपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .