ad ad

राजनीति


प्रधानमन्त्री ओलीलाई गगनका ११ प्रश्न

प्रधानमन्त्री ओलीलाई गगनका ११ प्रश्न

नेपालखबर
चैत २६, २०७६ बुधबार ६:४५,

नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमाथि केही प्रश्न उठाएका छन्।

मंगलबार प्रधानमन्त्री ओलीले बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गरेका थिए। प्रधानमन्त्रीको सम्बोधनपछि पनि केही अस्पष्टता रहेको भन्दै बुधबार सांसद थापाले प्रधानमन्त्रीमाथि ११ वटा प्रश्न तेस्र्याएका हुन्।

प्रधानमन्त्रीको सम्बोधन संसदबाट नभइ बालुवाटारबाट भएको भन्दै उनले आफूले प्रस्ट हुन चाहेका विषयलाई सामाजिक सञ्जाल ट्विटरमार्फत प्रस्तुत गरेका हुन्।

पूर्वमन्त्रीसमेत रहेका थापाले प्रतिकूल स्वास्थ्यका बावजुद प्रधानमन्त्री ओलीले देशविदेशमा रहेका नेपालीहरुलाई ढाडस दिलाएको भन्दै प्रशंसासमेत गरेका छन्।

सांसद थापाले र्‍यापिट टेस्ट कीटको गुणस्तरदेखि सीमारहेका नेपालीहरुका विषयसम्म कुरा उठाएका छन्। उनले देशका विभिन्न स्थानमा बनाएका क्वारेन्टिनमा ३० हजार बेड  खाली रहेको र सीमामा नेपाली अलपत्र परेको भन्दै सीमामा अलपत्रलाई ल्याएर क्वारेन्टिनमा राख्न सुझाव समेत दिएका छन्।

नेता थापाले नेपालको श्रम गन्तव्यका रुपमा रहेका मूलुकहरु र नेपाली रहेका अन्य मूलुकमा पनि महामारीको प्रकोपमा रहेको भन्दै उनले ती देशको प्राथमिकता नेपाली नागरिक नभइ आफ्ना नागरिक हुने भन्दै उनले दूतावासमार्फत प्रभावकारी कदम चाल्न सुझाव समेत दिएका छन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले जीवन र स्वतन्त्रतामध्ये एक रोज्न आग्रह गरेको भन्दै उनले त्यसमाथि पनि प्रस्ट पार्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

यस्ता छन् गगनले प्रधानमन्त्री ओलीलाई राखेका ११ प्रश्न

१, प्रधानमन्त्रीज्यूले सातै प्रदेशका १० परीक्षण केन्द्रमा पीसीआर प्रविधिबाट र संक्रमणको उच्च जोखिम भएका जिल्लाहरूमा द्रूत परीक्षण (आरअोटी)को माध्यामबाट हजारौको परीक्षणको तयारी भइरहेको भन्नुभएको छ जुन सराहनीय छ। तर,  र्‍यपिड टेस्टको गुणस्तर र तयारीका सन्दर्भमा आमतहमा मात्र होइन विज्ञहरूले समेत व्यापक चिन्ता व्यक्त गरिरहेका छन् ।

सरकारसँग यस्तो न्यापिड टेष्ट गर्ने किट र उपकरणको गुणस्तरको सुनिश्चितताको आधार के हो?

यापिड टेष्टको प्रोटोकल तयार छ कि छैन ?

नमुना संकलन गर्ने विधि र प्रक्रिया कस्तो हुन्छ?

 र्‍यापिड टेष्ट कहिले देखि कहाँ-कहाँ शुरु गर्ने योजना छ?

 परीक्षणका लागि आवश्यक जनशक्ति तालिम र सुरक्षाको तयारी कस्तो छ?

२,  कन्ट्याक ट्रेसिङ र अभिलेख संकलनको अवस्था के छ रु यसका लागि के कस्तो प्रणाली बनाइएको छ? संकलन गर्ने टिम कति छन्? तिनलाई के कस्तो तालिम दिइएको छ? विभिन्न स्थानबाट संकलन गरिएको तथ्यांकमा एकरुपता छ कि छैन? त्यस्तो तथ्यांक विशेषण तथा तथ्यांकको प्रयोग गर्न सक्ने संयन्त्र के– कस्तो छ?

३, प्रधानमन्त्रीज्यूले 'नेपाल-भारत सीमामा रहेका नेपालीलाई सीमापारी ने क्वारेन्टिनमा राखिएको' भन्नभयो। तर, अहिले पनि सीमामा अलपत्र हजारौं नेपाली भोक, बास र अपहेलनाले अपमानित र आक्रोशित अवस्थामा छन्। एउटै हलमा पचासौंको संख्यामा कोचिएर बस्नुलाई सरक्षित क्वारेन्टिन ठान्न अस्वीकार गर्दै प्रत्येक दिन सयौंको संख्यामा जोखिमपूर्ण ढगले जसरी तसरी नेपाल छिरेर दूरदराजका गाउँसम्म पुगिरहेका देशवासीका बारेमा प्रधानमन्त्रीज्यू शायद जानकार हनुहुन्न। यसरी जोखिम उठाउने बाध्यता उनीहरूको लागि अन्याय मात्र होइन, लुकिछिपी आँउदा हाम्रो संयन्त्रले आवश्यक सूचना नै नपाउने हुँदा नेपालभित्र सक्रमणको जोखिम समेत झन बढ्दैन र?

सीमामा रोकिएर अमानवीय परिस्थित सामना गरिरहेका वा अवैध ढंगले आफ्नै देश छिर्न ज्यान जोखिममा पारिरहेका नेपालीलाई सीमित नाकाबला गरेर भित्र्याउँदै अनिवार्य क्यारेन्टिनमा बस्ने प्रबन्ध गर्नेबारे नेपाल सरकारले नसोचेको हो वा नचाहेको हो? होइन भने तपाईंकै भनाइ अनुसार क्वारेन्टिनका लागि देशमा ३० हजार बेड उपलब्ध छ जसमध्ये हालसम्म ९ हजारमात्र प्रयोगमा आएको छ। त्यसो हो भने सीमामा अड्किएका जम्मा तीन हजार दाजुभाइ दिदीबहिनीलाई भित्र ल्याएर क्वारेन्टिनको न्यानो र सुरक्षा किन नदिने? अभर पर्दा हामीलाई हेर्ने सरकार छ भन्ने अनुभूति किन नदिलाउने?

४, नेपाल भारत सीमाबाहेक पनि हजारौंको संख्यामा नेपालीहरु भारतका विभिन्न स्थानमा अलपत्र परेर कठिन जीवन बिताउन बाध्य छन्। यसरी अलपत्र परेका अधिकांश नेपालीहरु भारतको लकडाउन सकिने बित्तिकै नेपाल छिर्ने निश्चित छ। यसरी निकट भविष्यमै ठूलो संख्यामा नेपाल भित्रिन सक्ने नागरिकहरूको व्यवस्थापनका सन्दर्भमा नेपाल सरकारको तयारी र योजना के छ?

५, सम्माननीय राष्ट्रपतिज्यू तथा प्रधानमन्त्रीज्यूले अन्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग गरेको वार्ताको कुटनैतिक महत्व अवश्य पनि छ तर उनीहरू आफै महासंकटसँग जुधिरहेको अवस्थामा हाम्रा नागरिकको सुरक्षा तिनको प्राथमिकतामा पर्दैन। विभिन्न राष्ट्रहरुमा रहेको नेपाली दूतावासहरुले रोजगारीको सिलसिलामा सुदूर प्रवासमा रहेका लाखौं नेपालीहरुको सुरक्षार्थ के-कस्तो योजना र व्यवस्थाका साथ काम गरिरहेका छन्?

६, प्रधानमन्त्रीज्यूले सातै प्रदेशमा उपचारमा आवश्यक पर्ने सुरक्षा सामग्रीको व्यवस्था मिलाइएको भन्नु त भयो तर अग्रभागमा रहेर जोखिममा काम गरिहेका धेरै स्वास्थ्यकर्मीले अहिले पनि न्यूनतम सुरक्षा सामग्री नपाएका समाचारले हाम्रो मिडिया भरिएको छ। व्यक्तिगत सुरक्षा सामग्री उपलब्धतताको स्थिति कस्तो छ, कति जगेडा छ, कहिलेसम्म धान्छ? कति मात्रमा संकलन वा खरिद वा उत्पादन गर्ने योजना सरकारले गरेको छ?

७, प्रधानमन्त्रीज्यूले 'भेन्टिलेटर सहित अपुग सामाग्री र उपकरणको प्रबन्ध गरिँदै छ' भन्नुभएको छ। सम्भाव्य जोखिमलाई मध्यनजर गर्दै अस्पताल केन्द्रित तयारीका लागि काठमाडौँ उपत्यका र प्रदेशहरूमा जनशक्ति उपकरण, औषधि र पूर्वाधार लगायतका सन्दर्भमा सरकारले कहाँ कहाँ के कस्तो प्रबन्ध गरिरहेको छ? हाम्रो नियमित स्वास्थ्य सेवा प्रभावित हुँदा अन्य रोगबाट पीडितहरूले उपचारबाट बसित हुने अवस्था आउन नदिन सरकारको के तयारी र योजना छ?

८ स्वास्थ्यकर्मीसँग सुरक्षाकर्मीहरु पनि अग्रभागमा रहन पर्ने अवस्था छ। सुरक्षाकर्मीहरुको जीवन र बासस्थानको सुरक्षाका सन्दर्भमा सरकारले के-कस्तो योजना र व्यवस्था गरेको छ।

९ सरकारले कृषि कार्यलाई निरन्तरता दिने उपयुक्त उपायको खोजी गरेको अवलम्बन गरेको भन्नभो। यो कस्तो उपाय हो र कहाँ र कसरी अवलम्बन भएको छ?

१०, सरकार राज्यका विभिल संबन्नहरूको तर्कसंगत उपयोग गर्ने मामिलामा पनि चुकेको छ। विपदको यो अवस्थामा सैन्य संयन्त्रको विशेषता, निपुणता तथा जिम्मेवारी पनि रहेको क्षेत्रमा त्यसलाई उपयोग नै गरिएन, तर भरसक सहभागी गराउन नहुने खरिद प्रक्रियामा भने सेनाको सहयोग मागिएको छ। स्वास्य सामग्री खरिद प्रकरणमा देखिएको कमजोरी र अनियमिताका कारण यो संकटमा हामीले गर्नुपर्ने तयारी प्रभावित भएकोमा जनताद्वारा व्यक्त व्यापक चिन्ता र आक्राेश तपाईंका लागि आधारहीन र प्रायोजित आरोप मात्र हुन?

११, कोरोना भाइरस संक्रमणविरुद्धको यो लडाईंमा तपाईले आम नागरिक, प्रतिपक्ष सबैको ठूलो साथ र सहयोग पाइरहनु भएको छ। तर पनि पूर्वाधार निर्माणमा भएको कमजोरीका कारण संक्रमण बिलो सुरु भएर तयारीका लागि हामीले पाएको अमूल्य समय त्यसै खेर गएको छ। यी चुनौतीहरूको पहिचान गर्दै केही कुरामा सच्याएर अघि बढीभन्दा निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी र बेमौसमी बाजा भनेर आक्षेप त लगाउनु हुन्न?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .