ad ad

राजनीति


प्रधानमन्त्री ओलीमा सर्वसत्तावादको भाइरस संक्रमण भयोः राणा

प्रधानमन्त्री ओलीमा सर्वसत्तावादको भाइरस संक्रमण भयोः राणा

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार ९:५७,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले प्रधानमन्त्री केपी ओलीलाई सर्वसत्तावादको भाइरस संक्रमण भएको बताएका छन्।

कुबाटोबाट अध्यादेश ल्याएर संवैधानिक परिषदमा एकलौटी गर्ने प्रधानमन्त्रीको चरम महत्वाकांक्षा संविधानको मर्म र संवैधानिक नियन्त्रण, सन्तुलन विपरीत रहेको राणाको ठहर छ। संवैधानिक अंगहरूलाई भर्तीकेन्द्र बनाउन खोजियो भनेर उनले आपति पनि जनाएका छन्।

‘प्रधानमन्त्री केपी ओली सर्वसत्तावादको भाइरसको संक्रमणमा पर्नु भएको छ। शक्ति केन्द्रीकृत गर्दै प्रजातान्त्रिक नियन्त्रण र सन्तुलन बर्खिलाप संवैधानिक परिषदमा एकलौटी गर्ने बदनियतमा कुबाटोबाट अध्यादेश ल्याइएको छ। संवैधानिक अंगहरूलाई भर्तीकेन्द्र बनाउने अभिष्ट बिल्कुलै निन्दनीय छ,’ अध्यक्ष राणाले बिहीबार भने।

कोभिड–१९ संक्रमण तेस्रो चरणमा प्रवेश गरीसक्दा पनि सरकार र सत्तारुढ दल चरम सत्तालिप्सा, सरकार र पार्टीगत शक्तिसंघर्षमा रुमल्लिनु उचित नभएको भन्दै उनले चिन्ता प्रकट गरेका छन्।

‘समुदायमा एकै दिन १२, अर्को दिन ११ जना संक्रमित देखिएको छ। काम कुरो एकातिर कुम्लो बोकि ठिमीतिर भनेझैं राष्ट्रमाथिको भार, निमुखा जनताको दुखकष्ट चटक्कै बिर्सिएर प्रधानमन्त्री नीजि महत्वाकांक्षा पूरा गर्न लाग्नुभएको छ,’ राणाले भने ‘महामारीबीच सत्तालिप्सा, सरकार र पार्टीको शक्तिसंघर्षमा रमाउनु अनपयुक्त छ।’

बन्दाबन्दीको समयमा किसानहरू फसल उठाउन र बेच्न नपाएर ठूलो मारमा परेकोले राणाले यथाशिघ्र समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।

‘किसानले फसल उठाएर लाभ लिने बेलामा महामारी फैलिएको छ। बन्दाबन्दीमा बाली उपभोक्तासम्म पुर्याउन संभव छैन। उत्पादन त्यसै बिग्रीएर खेर जाने अवस्था छ। तथापि भारतबाट तरकारी नियमित भित्रिएको छ,’ उनले ट्वीट गर्दै भने।

‘यसैले स्वदेशी किसानको संकट दूर गर्न, आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दछु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .