ad ad

राजनीति


पुँजीवाद र साम्यवाद भन्दा बिचको बाटो सान्दर्भिकः पौडेल

पुँजीवाद र साम्यवाद भन्दा बिचको बाटो सान्दर्भिकः पौडेल

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १६:१५,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको संक्रमणले निम्त्याएका समस्याको प्रभावकारी समाधानका लागि सरकारलाई कर्तव्य सम्झाउने काम विपक्षीको धर्म भएको बताएका छन्।

मुलुकभर लकडाउन लागू भएपछि आज पहिलोपटक बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै उनले अहिले सरकारको कर्तव्य जसरी हुन्छ कोरोना रोकथामका उपायको खोजी गर्ने, स्वास्थ्यकर्मीको सुरक्षा गर्ने, देशलाई भोलि आइपर्ने भोकमरीको संकटबाट कसरी बचाउने भन्नेमा केन्द्रित हुनुपर्ने बताएका थिए।

नेता पौडेलले विदेशबाट स्वदेश फर्किने लाखौं नेपालीको रोजगारीको प्रबन्ध गर्नुपर्ने, अहिले शहरबाट हजारौँ मानिस गाउँमा फर्किएको मौकामा बढ्दो शहरीकरणलाई गाउँतिरै फर्काउने अवसरको उपयोग गर्नुपर्नेमा जोड दिएको बैठकमा उनले प्रस्तुत गरेको विचारमा उल्लेख छ।

कोरोना महामारीले विश्व व्यवस्थामा नै प्रश्न चिह्न खडा गरेको बेला कुनै पनि अतिवादबाट मुक्त भएको कांग्रेसको चिन्तनलाई सान्दर्भिकतामा कसरी उभ्याउने भन्नेमा गहिरो चिन्तन गर्ने बेला आएको उल्लेख गर्दै उनले पूँजीवादमा पनि समस्या देखिएको र साम्यवाद पनि नेपालमा सान्दर्भिक नदेखिने हुँदा कांग्रेसको बीचको बाटो नै उत्तम हुने बताएका थिए।

बैठकमा उनले व्यक्तिगत जोड घटाउ, आश र त्रासको राजनीति भन्दामाथि उठेर विचार, सिद्धान्त, निष्ठा र सेवामा आधारित उच्च नैतिक धरातलमा जनताको मन जित्ने र देशलाई योगदान दिने पत्यारिलो शक्ति बनेर काँग्रेसले नै लोकतन्त्रको रक्षा र राष्ट्रोन्नतिको भरोसाको केन्द्र बन्न सक्नु पर्ने धारणा व्यक्त गरेका थिए।

नेता पौडेलले लकडाउनमा कृषक, दैनिक ज्यालादारी मजदूर, रोजगार गुमाएका व्यक्ति र शहर बजारमा भाडामा बसेका विद्यार्थीका लागि उचित राहतको व्यवस्था हुन नसकेको, कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेको नेपालीको उद्धारको ठोस योजना बन्न नसकेको बताए। स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार सुरक्षाका उपकरण अझै प्रबन्ध हुन नसकेको, महामारीका बेला स्वास्थ्य उपकरण खरिदमा अनियमित देखिएको, सांसद ‘अपहरण’ भनिएको प्रकरणमा प्रहरी र सरकारी वकिल कार्यालयले उजुरी नलिएको भन्दै उनले आलोचना गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .