ad ad

राजनीति


रावलको सुरक्षामा फर्किने तयारीमा थिए सशस्त्र जवान, संक्रमण देखिएपछि रोकिए

रावलको सुरक्षामा फर्किने तयारीमा थिए सशस्त्र जवान, संक्रमण देखिएपछि रोकिए

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार ५:५१,

मंगलबार कोरोना संक्रमण पुष्टि भएका सशस्त्र प्रहरीका जवान पूर्व गृहमन्त्री समेत रहेका भीम रावलको सुरक्षामा फर्किने तयारीमा रहेको पाइएको छ।

उनी एक महिना पहिले घर बिदामा गई फर्केपछि क्वारेन्टिनमा बसेका थिए।

डियुटीमा फर्किनु पहिले कोरोना परीक्षण गर्दा मंगलबार पोजिटिभ देखिएको हो।

‘उनी अहिले पनि पूर्वमन्त्रीज्यूकै सुरक्षा टिममै छन्, बिदाबाट फर्किएपछि परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको पाइयो’, सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठले भने।

मंगलबार उनकाे रिपाेर्टमा काेराेना नदेखिएकाे भए उनी बुधबारदेखि नै रावलकाे सुरक्षामा खटिएका हुन्थे।

अहिले उनले भेटेका व्यक्तिहरुको पहिचान गर्ने काम भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

सुरक्षा निकायले पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढेसँगै बिदामा गएर फर्किनेलाई क्वारेन्टिनमा राखेर र कोरोना परीक्षणपछि मात्रै डियुटीमा खटाउने गरेका छन्।

‘उनलाई टिमको कमाण्डरले परीक्षण गरेर डियुटीमा आउनु भनेपछि टेकुमा जाँच गराइएको हो, उनी हाम्रो फौजसँग मिसिएका छैनन्’, डीआईजी श्रेष्ठले भने।

कोरोना संक्रमण भेटिएका ती जवानलाई टेकू अस्पतालको आइसोलेसनमा राखिएको छ।

मंगलबार एकैदिन ८३ जना संक्रमित थपिँदा एक जना सशस्त्रका जवानमा पनि भेटिएको थियो।

रामेछाप घर भएका उनी भक्तपुरको दुवाकोट बस्दै आएका थिए।

बैशाख २५ गते सबै सांसदको कोरोना परीक्षण गर्दा पूर्वगृहमन्त्री रावलमा कुनै संक्रमण देखिएको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .