ad ad

राजनीति


‘आगामी चुनाव जित्न ट्रम्पले चीनका राष्ट्रपति सीसँग सहयोग मागेको’ खुलासा

‘आगामी चुनाव जित्न ट्रम्पले चीनका राष्ट्रपति सीसँग सहयोग मागेको’ खुलासा

नेपालखबर
असार ४, २०७७ बिहिबार ४:२०,

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब हुने राष्ट्रपति चयनको चुनाव जित्न चीनका राष्ट्रपति सी चिनफिङसँग सहयोग मागेको आरोप उनकै पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकारले लगाएका छन्।

ट्रम्पका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोहन बोल्टनले आफ्नो पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’मा ट्रम्पले राष्ट्रपतिको निर्वाचन जित्न सीसँग व्यक्तिगत रूपमै सहयोग मागेको कुरा उल्लेख गरेका हुन्।

यही जुन २३ जुन मा सार्वजनिक हुने त्यस पुस्तकको एकप्रति आफूले प्राप्त गरेको र त्यसमा चिनियाँ राष्ट्रपति सीसँग भएको प्रत्यक्ष भेटमा ट्रम्पले राष्ट्रपतिको चुनावमा आफूलाई सहयोग गर्न गरिएका प्रस्ताव उल्लेख रहेकाे अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ।

सीएनएनका अनुसार गत वर्ष ओशाकामा भएको जी–२० राष्ट्रको सम्मेलनमा ट्रम्पले सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनबारे ‘आश्चर्यजनक’ ढंगमा वार्ता गरेको बोल्टनले लेखेका छन्। त्यसका लागि चीनले कृषिजन्य वस्तुको खरिद बढाउनुपर्ने ट्रम्पले बताएको उनले उल्लेख गरेका छन्।

यस्तै गत वर्ष नै जी–२० कै अर्को बैठकमा चीनका राष्ट्रपति सीले उइगुर मुस्लिम राख्न आफूले ठूलो हिरासत कक्ष बनाइरहेको बताउँदा ट्रम्पले त्यो काम उचित भएको बताएको पुस्तकमा उल्लेख छ।

तर कोरोना महामारीयता ट्रम्प चीनप्रति आक्रामक भइरहेका छन् भने चीनकै विरोध गरेर आफूलाई राष्ट्रवादी देखाउँदै राष्ट्रपतिको चुनाव जित्ने रणनीतिमा लागेका छन्। ठीक यही बेला उनले चीनका राष्ट्रपतिसँग यसअघि सहयोग मागेको कुरा उल्लेख गरिएको बोल्टनको पुस्तक बजारमा आउन लागेको हो।

यसैकारण ट्रम्प प्रशासनले त्यो पुस्तक प्रकाशन नै हुन नदिन सक्दो प्रयास गरिरहेको पनि अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

बोल्टन २०१८ अप्रिलमा अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त भएका थिए भने सन् २०१९ सेप्टेम्बरमा उनले पद छाडेका थिए। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट हटेको १ वर्ष नहुँदै बाेल्टनले अमेरिकाकाे राष्ट्रपति चुन्ने निर्वाचनको मुखैमा पुस्तक प्रकाशन गर्न लागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .