ad ad

राजनीति


नेकपाकै नेता भन्छन्ः प्रधानमन्त्रीको अभिव्यक्ति असफलता छोप्ने प्रयास मात्रै हो

नेकपाकै नेता भन्छन्ः प्रधानमन्त्रीको अभिव्यक्ति असफलता छोप्ने प्रयास मात्रै हो

सागर न्यौपाने
असार १४, २०७७ आइतबार ११:३०,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन दिल्ली र नेपालका शक्ति लागेको अभिव्यक्ति आफ्नो कमजोरी लुकाउने प्रयास मात्र भएको नेकपाकै नेताहरुले बताएका छन्।

आइतबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा ओलीले नेपालको नयाँ नक्सा छापेका कारण आफूलाई हटाउन दिल्ली र काठमाडौँमा षड्यन्त्र रच्न थालिएको दाबी गरेका थिए।

नेकपाका स्थायी समिति सदस्य तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट नेता हरिबोल गजुरेलले प्रधानमन्त्रीको अभिव्यक्ति सरकारको असफलता छोप्ने नियतले आएको बताए।

‘पार्टी र सरकारको आन्तरिक समस्या हल गर्‍यो भने कसैले हटाउन खोजेर हट्ने हो र?’ गजुरेलले भने, ‘पार्टी र सरकारको नेतृत्वमा असफल भइसकेपछि मलाई कसैले (दिल्ली)ले हटाउन खोज्यो भनेर हुन्छ?’

ओलीले सहमति पालना नगर्ने र नेताहरुलाई उपयोग गर्ने नीति अख्तियार गरेकै कारण पार्टीमा गतिरोध देखिएको वरिष्ठ नेता माधवकुमार नेपाल निकट एक नेताले बताए।

‘पार्टीभित्र पनि ओली विधिमा नबाँधिएका कारण समस्या भएको हो,’ ती स्थायी समिति सदस्यले नेपालखबरसँग भने, ‘आन्तरिक समस्या समाधान नगर्ने तर मलाई हटाउन खोज्यो भन्दैमा समस्या समाधान हुँदैन।’

ती नेताले नेपालमा आफ्नो कमजोरी लुकाउन भारतलाई दोष दिने चलन रहेको पनि बताए।

‘२०६६ मा रुक्माङ्गत कट्वाल काण्डका कारण प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिँदा पनि भारतको इसारामा आफूलाई हटाइएको भनेका थिए,’ उनले भने, ‘राम्रो काम गरेर पार्टीभित्र एकमत भए अरुले कसरी हटाउन सक्छ?’

नेकपाका अर्का स्थायी समिति सदस्य मणि थापाले प्रधानमन्त्रीलाई हटाउने कुनै योजनै नबनेको बताए। यतिबेला ओलीाई हटाउँदा आम जनतामा जाने सन्देशबारे नेकपा नेताहरु जानकार रहेको उनको भनाइ छ।

‘प्रधानमन्त्री हटाउने कुनै योजना बनेकै छैन, अहिले तत्काल त्यो सम्भव पनि छैन,’ थापाले भने, ‘सरकार र पार्टीको नेतृत्व हेरफेर गर्ने कुनै सम्भावना छैन। प्रधानमन्त्रीका सयौं कमजोरी भएपनि अहिले फाल्न खोज्दा गलत सन्देश जाने कुरामा शीर्ष नेताहरु जानकार छन्।’

ओलीप्रति किन बढ्यो अविश्वास?
पछिल्लो समय नेकपाका नेताहरुले ओलीले मनपरी तरिकाले सरकार र पार्टी चलाएको, नेताहरुको कुरा नसुनेकोजस्ता आरोप लगाउँदै आएका छन्। पार्टी एकतापछि अहिलेसम्म एकता प्रक्रिया टुंगो नलगाएको, जिम्मेवारी दिँदा पनि भेदभाव गरेको, गुट सक्रिय पारेको लगायतका आरोप ओलीमाथि छ।

त्यसैले जारी स्थायी समिति बैठकले उनको भूमिका घटाउन सक्ने एक नेता बताउँछन्।

‘प्रधानमन्त्री ओलीले मुख्य नेताहरुलाई पेल्ने रणनीति लिनुभएकै हो,’ ती नेताले नेपालखबरसँग भने, ‘स्थायी समितिको बैठकले उहाँको भूमिका घटाउन सक्छ।’

ओली पार्टी कमिटीहरुमा अल्पमतमा छन्।

पार्टी एकता गर्दा भएका सहमति उल्लंघन गरेकै कारण पार्टीमा समस्या देखिएको र त्यो समस्या व्यक्तिगत नभई संस्थागत भएको गजुरेलको भनाइ छ।

‘पछिल्ला दिन सरकार र पार्टीको नेतृत्व गरेका व्यक्तिबाटै नेताहरुलाई माइनस गरेर जाने प्रवृत्ति देखियो, अहिलेको समस्या नै त्यही हो, पार्टीका नेताहरुलाई माइनस गरेर कसरी एकताले सार्थकता पाउँछ?’ उनले प्रश्न गरे।

बुधबारदेखि जारी नेकपा स्थायी समिति बैठकमा सरकार र पार्टीको समीक्षा लगायतका विषयमा छलफल गर्ने एजेन्डा छ।

ओली एक्लैले सरकार र पार्टीको नेतृत्व गर्दा सबैतिर ध्यान दिन नसकेको स्थायी समिति सदस्यहरु बताउँछन्।

‘एउटै व्यक्ति पार्टी र सरकारको नेतृत्वमा रहँदा कतैको पनि काम भएन,’ एक स्थायी समिति सदस्यले भने, ‘अहिलेसम्म एकता प्रक्रिया पनि टुङ्गिएन र झण्डै दुई तिहाइ जनमत भएपनि सरकारले सिन्को समेत भाँच्न सकेन, बरु विवादमा मात्रै फसिरहेको छ।’

स्थायी समितिको जारी बैठकले नेताहरुको जिम्मेवारीको विषयमा कुनै न कुनै निर्णय गर्ने अपेक्षा गरिएको छ।

बैठकले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपालको जिम्मेवारी ठोस गर्ने बताइएको छ।

नेता खनाल र नेपाल पार्टीभित्र भूमिकाविहीन अवस्थामा छन्। प्रचण्डलाई कार्यकारी अध्यक्ष भनिएपनि उनले त्यो भूमिका पाएका छैनन्।

बैठक मंगलबार बस्दैछ।

७ वटा एजेन्डा तय गरिएको बैठकमा सरकार र पार्टीको समीक्षासहित मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) जस्ता विषयमा छलफल गर्नै बाँकी छ।

सचिवालयमा अध्यक्ष प्रचण्डसहित खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ ओलीको विरुद्धमा छन्।

उता स्थायी समिति बैठकमा पनि ओली अल्पमतमा छन्। ४५ सदस्यीय समितिमा ओली पक्षमा १० जना नेता मात्र छन्।

यस्तो अवस्थामा जारी स्थायी समितिको बैठकले आफ्नाविरुद्ध केही निर्णय हुने सम्भावना देखेका हुनसक्छन्।

तर, यो बैठक खनाल, नेपाल र प्रचण्डबीचमा शक्ति बाँडफाँट भई सकिने नेताहरुको भनाइ छ।

‘यो बैठकबाट केही नेताहरुको जिम्मेवारी तोकिन्छ’, एक स्थायी समिति सदस्यले भने, ‘प्रचण्डलाई पूर्ण रुपमा पार्टी हाँक्न दिने र नेता नेपालको भूमिका सोही आधारमा तय गर्न गर्न म्यान्डेट दिनसक्छ।’

यो पनि: 
दिल्ली र नेपालका शक्ति लागेर मलाई हटाउन खोजिँदैछ : प्रधानमन्त्री ओली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .