ad ad

राजनीति


‘२० प्रतिशतले पार्टी फुटाउन पाउने अध्यादेश ल्याउने प्रधानमन्त्रीको योजना रहेछ’

‘२० प्रतिशतले पार्टी फुटाउन पाउने अध्यादेश ल्याउने प्रधानमन्त्रीको योजना रहेछ’

सागर न्यौपाने
असार १८, २०७७ बिहिबार १२:१९,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक जारी रहँदा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग उठेको छ।

सरकार र पार्टी सञ्चालनमा एकलौटी गरेको, स्वेच्छाचारी ढंगले पार्टी चलाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य रामबहादुर थापा लगायतका ३१ नेता ओलीबिरुद्ध अहिले एकजुट भएका छन्। अघिल्लो साताको बुधबारदेखि जारी बैठक पटकपटक स्थगित हुँदै बस्दै गरिरहेको छ।

नेताहरुबीच विवादकै कारण बिहीबारको बैठक पनि केहिबेर बसेर स्थगित भयो। सो बैठकलगत्तै नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालखबरले गरेको कुराकानीः

स्थायी समितिको बैठक स्थगित भयो, खास के भएको हो ?
प्रधानमन्त्री बैठकमा आउदै आउनुभएन। अनि बैठकमा थाहापत्तो केही पनि नदिई इमर्जेन्सी रुपमा मन्त्रीपरिषद्को बैठक राख्नुभयो। जबकि त्यस्तो नगर्ने सहमति नै बनेको थियो। मन्त्रीहरुलाई बोलाउनुभयो। तर, सबै मन्त्री नभई तीन चार जना मात्रै भएको बेलामा उहाँले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गराउनुभयो। एक त सबै मन्त्री रहेनछन्, अर्काे पार्टीमा सहमति नै नगरी उहाँबाट त्यस्तो गतिविधि भयो। पार्टीको बैठक चलिरहेको छ, संसद चलिरहेको छ तर न सभामुखसँग सल्लाह छ न पार्टी अध्यक्षसँग सल्लाह छ, न केन्द्रीय कमिटीसँग सल्लाह छ। कसैसँग सल्लाह नगरी उहाँले अधिवेशन अन्त्य गर्नुभयो। अब उहाँले पार्टी फुटाउने अध्यादेश ल्याउँदै हुनुहुन्छ। २० प्रतिशतको समर्थनमै दल फुटाउन मिल्ने अध्यादेश ल्याउने र त्यसै आधारमा पार्टी फुटाउने योजना रहेको हामीले सूचना पायौं। त्यही सूचना पाएपछि स्थिति गम्भीर मोडतर्फ जाने देखेर हामीले पनि थप छलफल गर्न थाल्यौं। पार्टी एकता कसरी जोगाउने भनेर दिनभरी हामीले त्यसैमा छलफल गर्‍यौं। हामीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री र राष्ट्रपतिसँग परामर्श गर्न पठायौं। उहाँले कुराकानी गरेर आउनुभयो। र अन्त्यमा अहिलेसम्म त अध्यादेश जारी भएको छैन, पर्सीसम्म बैठक स्थगित गरौं, अझै छलफल गरौं भनेर हामी हिड्यौं।

प्रधानमन्त्रीसँग कुरा नमिलेपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न जानुभएको हो?
प्रधानमन्त्रीसँग छलफल नै भएन। उहाँ बैठकमै नआएपछि राम्रोसँग छलफल कसरी गर्ने? त्यति हुँदाहुँदै पनि प्रचण्डले कुरा गर्नका लागि जानुभएको हो। उहाँसँग संसद अधिवेशन अन्त्य गर्नुपर्नाको कारण पनि सोध्नुभएको हो। विहान फोनमा केही गर्दिन भन्ने अनि आँफै अध्यक्ष रहेको पार्टी स्थायी समितिको बैठकमा उपस्थित नभएर संसद अन्त्य गराउँदा राम्रो भएन भन्नुभयो। एकता प्रक्रिया कुनै हालतमा तोड्न नहुने प्रचण्डले जोड पनि दिनुभयो। तर, सल्लाह विपरीत पार्टी कमिटीको बैठकमा नेताहरुलाई थाहै नदिई प्रधानमन्त्रीले फटाफट निर्णय गराएपछि समस्या पर्छ। त्यसैले राष्ट्रपति भेट्न अध्यक्ष प्रचण्ड जानुभयो।

याे पनि: प्रचण्डसँगको सहमतिविपरीत ओलीले संसद अधिवेशन अन्त्य गरेको खुलासा

राष्ट्रपतिसँग कुरा के भएछ? प्रचण्डले पछि व्रिफिङ गर्नुभए होला नि?
अध्यादेश जारी गर्ने, पार्टी फोड्ने काम नगर्न भन्नुभयो। राष्ट्रपतिको भूमिका विवादमा ल्याउनु हुँदैन, पार्टीभित्र देखिएका समस्या पार्टीभित्रै हल हुन्छ। त्यहाँ संबैधानिक पदमा रहेका व्यक्ति मुछिनु हुँदैन भनेर प्रचण्डले राष्ट्रपतिलाई भन्नुभएको छ।

पार्टीमा गम्भीर समस्या आएको देखियो, अब तपाईहरुको स्टेप के हुन्छ त?
अब हामी पर्सीसम्म हेर्छाैं, बैठक गर्छाैं। हाम्रो उद्देश्य भनेको पार्टी एकतालाई जोगाउने हुन्छ। तर, पार्टी कसैले फोड्छ भने त्यसको दृढतापूर्वक प्रतिवाद हुन्छ।

प्रतिवाद कसरी हुन्छ?
पार्टी फोड्ने प्रवृत्तिबिरुद्ध सिंगो पार्टीलाई एकताबद्ध गरेर अगाडि बढाउँछौं।

त्यसो भए, यो बीचमा प्रधानमन्त्रीसँग पनि परामर्श हुन्छ?
हामी जसकसैसँग पनि छलफल गर्छाैं। हामी कसैसँग पानी बाराबार गर्दैनौं, पार्टी एकताका लागि अन्तिमसम्म संवाद गर्छाैं। तर, पार्टी नीति र बिधिमा रहेर हरेक निर्णय हुन्छ।

यहाँनेर प्रधानमन्त्री तथा अध्यक्षकै कारण गतिरोध बढेको कि त्यसमा तपाईहरुले धेरै पेलेका कारणले यो अबस्था आएको पो हो कि?
होइन होइन। पार्टीका नीति विधि, प्रक्रिया प्रधानमन्त्रीले तोडेपछिको कुरा हो, यसमा प्रचण्डलाई जोड्नु आवश्यकता नै छैन। हामी पार्टी एकतालाई जोगाउन लागिपरेका छौं। यहाँ समस्या भनेको पार्टी र गुटकाबीचको हो। केपी ओलीले एउटा गुटको नेतृत्व गर्नुभयो हामी पार्टीको नेतृत्व गरिरहेका छौं। गुट हाबी हुने कि पार्टी हाबी हुने? प्रश्न त्यो हो।

याे पनि: यसरी हुँदैछ नेकपाको विवाद समाधान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .