ad ad

राजनीति


‘ओलीमाथि कारबाहीको प्रस्ताव आउने सुइँको पाएपछि स्थायी समिति बैठक स्थगित’

‘ओलीमाथि कारबाहीको प्रस्ताव आउने सुइँको पाएपछि स्थायी समिति बैठक स्थगित’

सागर न्यौपाने
असार २४, २०७७ बुधबार १५:३९,

बुधबारका लागि तय गरिएको सत्तारुढ दल नेकपाको स्थायी समितिको बैठक फेरि दुई दिन सारिएको छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार र मंगलबार भएको छलफलमा बुधबार बैठक बस्ने समझदारी भएको बताइएको थियो। तर, बुधबार बैठक बस्ने बेलामा स्थगित गरियो।

यसअघि पटक पटक सारेर बुधबारका लागि तय गरिएको बैठक सहमति कायम गर्नको लागि भन्दै फरि स्थगित गरिएको हो।

यसरी नेकपाको स्थायी समिति बैठक किन बारम्बार सरिरहेको छ त? यसबारे ओली र प्रचण्ड–नेपाल पक्षले आआफ्नै दाबी गर्दै आएका छन्।

ओलीनिकट एक नेताले स्थायी समितिमा प्रधानमन्त्रीमाथि कारबाही गर्ने प्रस्ताव ल्याउने सुइँको पाएपछि बारम्बार बैठक सारिएको दाबी गरे।

‘असार २० गतेको बैठकमा पनि सहमति नभए प्रधानमन्त्री ओलीमाथि कारबाही गर्ने प्रस्ताव स्थायी कमिटीमा ल्याउने र त्यसलाई केन्द्रीय कमिटीबाट अनुमोदन गराउने तयारी रहेको हामीले थाहा पायौँ,’ ती स्थायी समिति सदस्यले भने, ‘त्यसैले सो प्रयासलाई रोक्न बैठक पछि सारिएको हो।’

असार १० देखि सुरु भएको स्थायी समिति बैठकमा १६ गतेदेखिको छलफल ओलीको राजीनामामा केन्द्रित भएको थियो।

त्यसैले १८ गतेको बैठकमा ओली उपस्थित भएनन्। त्यसयता बारम्बार स्थगित हुँदै आएको बैठक पुनः असार २६ गते बोलाइएको छ।

तर, आफूले गल्ती गरेपछि आलोचना हुने डरले ओली बैठकबाट भागिरहेको प्रचण्ड–नेपाल समूहका एक नेता बताउँछन्।

‘पार्टीमा देखिएको समस्याका विषयमा नेतृत्वको आलोचना बैठकमै हुन्छ,’ ओली–प्रचण्डलाई मिलाउन सक्रिय ती नेताले नेपालखबरसँग भने, ‘तर, उहाँहरु बैठक लम्ब्याएर केही निर्णय हुन नदिने योजनामा हुनुहुन्छ।’

ओलीले पार्टी फुटाउने तयारी गरिसकेको र त्यसलाई रोक्न बैठक स्थगनको प्रस्तावमा सहमत भएको ती नेताले बताए।

‘उहाँले पार्टी फुटाउने तयारी तीव्र पारिसक्नुभएको थियो,’ ती नेताले भने, ‘त्यसलाई रोक्नको लागि पनि बैठक स्थगित गरेर छलफल गराइएको हो। यो बैठकमा सहमति भएन भने अर्को पटक एकीकृत रुपमा स्थायी समितिको बैठक हुने सम्भावना रहँदैन।’

पार्टीभित्र देखिएको तिक्ततालाई अन्त्य गराउन कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल र स्थायी कमिटी सदस्य टोपबहादुर रायमझीलगायत नेताले अग्रसरता लिएका थिए।

तर, अन्तहीन बैठक स्थगनले कुनै समाधान नदिने स्थायी समिति सदस्य रघुजी पन्त बताउँछन्।

‘नेताहरुबीच समस्या समाधान गर्न बैठक रोकेर छलफल गर्न आवश्यक थियो,’ पन्तले भने,‘ तर, अन्तहीन बैठक स्थगित गर्दा नेताहरुबीच झन् ग्याप हुन्छ र अविश्वास बढ्छ, अनि मिल्न लागेको विषयमा निर्णयमा पुग्न कठिनाइ देखिन्छ।’

‘गोप्य सहमति हुनु हुन्न’
बैठक स्थगित भएयता ओली र प्रचण्ड दैनिकजसो छलफलमा छन्। यसबाट माधव नेपाल पक्ष भने सशंकित देखिएको छ।

ओली र प्रचण्डबीच गुप्त रुपमा कुनै सहमति हुन नहुने नेपालनिकट एक नेताले बताए।

‘गोप्य सहमति गरिनुहुन्न, जे समझदारी हुन्छ, त्यसलाई पार्टी कमिटीले अनुमोदन गरे समस्या ल्याउँदैन,’ अर्का एक नेताले भने, ‘यसअघि ओली–प्रचण्डबीच भएको आलोपालो प्रधानमन्त्री बन्ने सहमति कार्यान्वयन नहुनुको कारण यही हो।’

नेकपाका शीर्ष नेताहरुबीच देखिएको मतभेद स्थानीय तहसम्म पुग्न थालेको छ।

विभिन्न स्थानमा दुई पक्षका कार्यकर्ताबीच हात हालाहालको स्थिति समेत उत्पन्न हुन थालेको छ।

बुधबार पनि ओली समर्थकहरुले विभिन्न स्थानमा प्रदर्शन आयोजना गरेका थिए।

मुख्यमन्त्री र मन्त्रीलाई काममा बाधा
स्थायी समिति बैठकमा सहभागी हुन आएको कतिपय नेताहरु बैठक लम्बिएपछि समस्यामा परेका छन्। उनीहरुमध्ये कतिपय प्रदेश सरकारको जिम्मेवारी लिएकाहरु छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ बैठक कुरेर काठमाडौंमै बसिरहेका छन्। लगातार बैठक स्थगित हुँदा समस्या परिरहेको उनीहरु बताउँछन्।

यता संघीय सरकारका मन्त्रीहरुले पनि पार्टीको गतिरोधका कारण काममा असर गरेको बताएका छन्।

‘पार्टीमा समस्या देखियो, प्रधानमन्त्रीले कित्ता प्रस्ट पार्न भनिसक्नुभयो,’ एक मन्त्रीले भने, ‘असार अन्तिममा कामको चाप छदैँछ, अझ पार्टीमा गतिरोध समेत थपियो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .