ad ad

राजनीति


स्थायी समितिमा ओलीको राजीनामा माग्दै प्रस्ताव पेस गर्ने तयारी

स्थायी समितिमा ओलीको राजीनामा माग्दै प्रस्ताव पेस गर्ने तयारी

सागर न्यौपाने
असार २५, २०७७ बिहिबार १४:३८,

सत्तारुढ नेकपाको विवाद समाधानका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पदबाट राजीनामा दिनुपर्ने औपचारिक प्रस्ताव स्थायी समिति बैठकमा पेस गर्ने तयारी भएको छ।

पटकपटक स्थगित गरिएको बैठक शुक्रबार बोलाइएको छ। शुक्रबार बिहानसम्म कुनै समझदारी विकास भएन भने ओलीले एक पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव पेस हुने एक सचिवालय सदस्यले नेपालखबरलाई बताए।

‘अहिलेको बटमलाइन नै ओलीको राजीनामा हो। अब बस्ने बैठकमा सो प्रस्ताव एजेन्डाको रुपमा प्रस्तुत हुन्छ,’ ती नेताले भने।

यसलाई ओलीले नटेरे विधानअनुसार पार्टीले निर्णय गर्ने पनि उनले दाबी गरे। 

‘उहाँले राजीनामा दिन्नँ भनेर धेरै पटक भनिसक्नुभयो। उहाँले राजीनामा दिनुको विकल्प नै छैन, नदिए विधानबमोजिम पार्टीले निर्णय गर्छ,’ उनले भने।

पछिल्ला दिन ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटमा कुरा सुन्ने र सुनाउने मात्र काम भएको भन्दै ती नेताले अब बस्ने स्थायी समिति बैठकले निकास दिनैपर्ने बताए।

‘पार्टीभित्र सहमति कायम गर्न र एकता जोगाउन हामीले ओलीलाई समय दिइरहेका छौं, पर्खिरहेका छौं,’ उनले भने, ‘तर, उहाँले निकास दिनुभएन भने पार्टीले विधानसम्मत रुपमा निकास दिन्छ।’

स्थायी समिति बैठकमा राजीनामा माग भएपछि ओलीले पार्टी विभाजित हुने चेतावनी समेत दिएका थिए। यदि राजीनामा दिनुपर्ने  पेस भएमा ओली पक्षको रणनीति कस्तो हुन्छ भन्ने प्रष्ट छैन।

विवाद मत्थर पार्न सोमबार, मंगलबार र बुधबार ओली–प्रचण्डबीच बालुवाटारमा एक्लाएक्लै वार्ता भएको थियो। ओलीइतर नेताहरु उनलाई कमसेकम एउटा पदबाट राजीनामा गराउने पक्षमा छन्। तर, ओलीले दुवै पद नछाड्ने अडान लिँदै आएका छन्। यही विषयलाई लिएर बुधबारको बैठमा ओली र प्रचण्डबीच चर्काचर्की समेत परेको थियो। त्यसपछि स्थायी समिति बैठकमा औपचारिक प्रस्ताव पेस गर्ने तयारी गरिएको हो।

त्यसका लागि स्थायी समिति सदस्यहरुले हस्ताक्षर अभियान समेत थालेका छन्। यही सूचना पाएका ओलीले बिहीबार प्रचण्डसँग भेट्न आफ्ना तीन नेतालाई खुमलटार पठाएका थिए।

सम्बन्ध सुधारको पहल गर्न भन्दै सुवास नेम्वाङ, शंकर पोखरेल र प्रदीप ज्ञवाली खुमलटार पुगेका थिए।

उनीहरुले दुई अध्यक्ष मिलेर जान र तिक्तता नसाँध्न प्रचण्डसँग आग्रह गरेको एक नेताले बताए।

तर, ओलीले विवाद समाधानमा चासो नदेखाएको बरु पार्टी फुटाउनै लागिपरेको भन्दै प्रचण्ड–नेपाल पक्ष रुष्ट छ।

‘ओलीजीले पार्टीभित्र विवाद समाधानमा अग्रसरता देखाउनुभएन,’ एक स्थायी समिति सदस्यले भने, ‘उहाँले पार्टी फुटाउने गरी असारको दोस्रो हप्तामै तयारी गरिसक्नुभएको छ। प्रचण्डले रोक्नुभएको हो, अध्यक्ष प्रचण्ड अन्तिमसम्म पार्टी फुट्न दिन नहुने अडानमा रहेकैले अहिलेसम्म फुट रोकिएको हो।’

ओली पक्षका नेताहरुले भने अहिले नै राजीनामा दिँदा एकता प्रक्रिया अपुरो हुने र संवैधानिक गतिरोध निम्तिने दाबी गरेका छन्।

‘दुई पदबाट राजीनामा माग भएको हो,’ ती नेताले भने, ‘गतिरोध बढ्न थालेपछि विभिन्न चलखेल भए, त्यसकारण ओलीले एक पदबाट राजीनामा दिनैपर्छ।’

ओलीको पक्षमा प्रदर्शन रोक्नुपर्ने ११ नेताको निष्कर्ष
विवादकै कारण पार्टी विभाजन समेत हुनसक्ने भन्दै पार्टीका दोस्रो तहका नेताहरु त्यसलाई रोक्न सक्रिय छन्।

बिहीबार सिंहदरबारमा ११ नेताबीच छलफल भएको हो।

कृषि मन्त्रालयमा भएको दुई घण्टा लामो छलफलले प्रधानमन्त्रीको समर्थनमा भइरहेको प्रदर्शन रोक्नुपर्ने निष्कर्ष निकालेको छ। साथै ओलीविरुद्ध भइरहेको हस्ताक्षर संकलन समेत रोक्न सुझाव दिने समझदारी बनेको बैठकमा सहभागी नेता टोपबहादुर रायमाझीले जानकारी दिए।

‘जारी गतिरोधको अन्त्य गराउन दुई अध्यक्षबीच छलफललाई निरन्तता दिन सुझाव दिएका छौं,’ उनले भने, ‘प्रधानमन्त्रीको पक्षमा भइरहेको प्रदर्शन रोक्नुपर्ने निष्कर्ष निकालेका छौं।’

याे पनि: प्रचण्डले दिएको ‘ब्ल्यांक चेक’ ओलीले प्रयोग गर्न जानेनन्ः रघुजी पन्त (अन्तर्वार्ता)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .