ad ad

राजनीति


नेकपा कार्यदलले सुरु गर्‍यो सहमतिको खाकाबारे छलफल

नेकपा कार्यदलले सुरु गर्‍यो सहमतिको खाकाबारे छलफल

नेपालखबर
साउन ३१, २०७७ शनिबार १४:४४,

सत्तारूढ नेकपाभित्रको विवाद समाधानका लागि गठन गरिएको कार्यदलले शनिबारदेखि काम सुरु गरेको छ।

नेकपा महासचिव तथा कार्यदलका संयोजक विष्णु पौडेलको भैंसेपाटीस्थित निवासमा शनिबार छलफल भएको हो।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको छलफलपछि गठन गरेको ६ सदस्यीय कार्यदललाई सहमतिको प्रस्तावको मस्यौदा गर्ने जिम्मेवारी दिइएको छ।

पौडेलको संयोजकत्वमा गठित सो कार्यदलमा भीम रावल, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र जनार्दन शर्मा सदस्य छन्।

असार १० गतेदेखि बसेको नेकपा स्थायी समिति बैठकमा उठेका विषयमै टेकेर छलफल भइरहेको कार्यदलका एक सदस्यले जानकारी दिए।

नेकपाभित्र बैशाखदेखि विवाद जारी छ। प्रधानमन्त्री ओलीले पार्टी फुटाउन सहज हुनेगरी बैशाख ८ गते अध्यादेश ल्याएपछि नेकपाभित्रको विवादले चर्को रुप लिएको हो।

सो विषयमा छलफल गर्न असार १० गतेदेखि स्थायी समिति बैठक बसे पनि त्यसमा प्रगती भएको छैन।

बैठक पार्टी र सरकार संचालन, अमेरिकी परियोजना एमसीसी, नेपाल–भारत सीमा समस्यालगायत सात एजेन्डामा छलफल गर्न तय गरिएको थियो।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सहमति पालना नगरेको, सरकार र पार्टी संचालन गर्न असफल भएको भन्दै बैठकमा उनको राजीनामा माग भएपछि उनी बैठकमा सहभागी भएका छैनन।

पार्टीभित्र गतिरोध बढेपछि नेताहरूले दुई अध्यक्षबीच सहमति गराउन र समस्या समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको हो।

याे पनि: नेकपामा कार्यदल : डेडलक अन्त्यको खाका कोर्ने यस्तो छ जिम्मेवारी

कार्यदल बन्नुअघि सचिवालय बैठक नराखेकोमा नेताहरूले असन्तुष्टि जनाएका छन्।

शनिबार प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो।

सो छलफलमा कार्यदल गठन गर्नुअघि सचिवालय बैठक बोलाएको भए राम्रो हुने कुरा नेताहरूले उठाएको स्रोतले जनाएको छ।

‘दुई अध्यक्षबीच मोटामोटी सहमति भइसकेको छ, त्यसलाई मस्यौदा गर्न मात्र कार्यदल बनाइएको देखिन्छ’, माधव नेपालनिकट एक नेताले भने, ‘खासमा कार्यदल बनाउने निर्णय दुई अध्यक्षले होइन स्थायी समिति वा सचिवालय बैठकबाट हुनु पथ्र्यो।’

प्रवक्ता श्रेष्ठले भने कार्यदल बनिसकेको अवस्थामा अब त्यसबारे छ्लफल गर्नुको औचित्य नभएको बताए।

‘कार्यदल बनिसक्यो अब छलफल गर्नुको खासै औचित्य त छैन’, श्रेष्ठले भने ‘सचिवालय बैठक बसेर कार्यदल बनाएको भए राम्रो हुन्थ्यो र पार्टी निर्णय कमिटीबाट भएको सन्देश जान्थ्यो।’

श्रेष्ठले अब सचिवालय बैठक पनि बस्ने र पार्टीमा देखिएको विवाद समाधानउन्मुख नै हुने अपेक्षा गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .