ad ad

राजनीति


कांग्रेस महाधिवेशन फागुनमा हुन नसक्ने नेताहरुको निष्कर्ष

कांग्रेस महाधिवेशन फागुनमा हुन नसक्ने नेताहरुको निष्कर्ष

सागर न्यौपाने
भदौ ३०, २०७७ मंगलबार १५:४०,

नेपाली कांग्रेसका नेताहरुले फागुनका लागि तय भएको पार्टीको महाधिवेशन सो समयमा हुन नसक्ने निष्कर्ष निकालेका छन्।

२०७७ फागुनको पहिलो हप्ताका लागि मिति तोकेपनि कोरोना संकटका कारण महाधिवेशनको तयारीका लागि गर्नैपर्ने काम हुन नसकेका कारण निर्धारित मितिमा महाधिवेशन नहुने भएको हो।

चार वर्षमा महाधिवेशन गर्नुपर्ने कांग्रेसले देश संघीयतामा गएको र सबै तहमा संरचना बनाउन नसकेको भन्दै एक वर्ष समय थप गरेर फागुनको मिति तोकेको हो।

सोही आधारमा महाधिवेशन कार्यक्रम अघि बढाउनुपर्ने थियो। तर, कोरोना महामारीका कारण सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण महाधिवेशन कार्यतालिका प्रभावित भएको छ।

भदौ ३१ गतेसम्म क्रियाशिल सदस्यता टुंगो लगाएर केन्द्रमा आइपुग्नुपर्ने भएपनि अहिलेसम्म सुरु नै भएको छैन।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले फागुनमा महाधिवेशन नहुने बताए।

‘केन्द्रीय कार्यसमितिले पास गरेको कार्यतालिका फेल भइसक्यो, कार्यतालिकाअनुसार भोलि (३१ भदौ)सम्म देशभरिका क्रियाशील सदस्यताको विवरण काठमाडौं पुग्नुपर्ने मिति हो। जबकि केही जिल्लाले अहिलेसम्म क्रियाशील सदस्यता लगेकै छैनन्,’ लेखकले नेपालखबरसँग भने, ‘नयाँ वितरण गरेको छैन, केही ठाउँमा नवीकरणमात्र भएको छ। नवीकरण भएर पनि जिल्लासम्म आइपुगेको छैन भने कहाँबाट केन्द्रबाट आउँछ? त्यो कार्यतालिका फेल भयो।’

वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, महामन्त्री शशांक कोइरालाहरुले महाधिवेशन गर्न सभापति शेरबहादुर देउवाले आनाकानी गरेको आरोप लगाइरहेका छन्।

महाधिवेशन कार्यतालिका फेल भएपछि मंगलबार कांग्रेसका केही नेताहरुबीच वेविनारमा छलफल भएको छ।

महाधिवेशन गर्ने कुरामा के के विकल्प हुनसक्छन् भन्नेबारेमा सो वेविनारमा छलफल भएको नेता लेखकले बताए।

‘फागुनमा महाधिवेशन हुन सक्तैन, अर्काे विकल्प खोज्नुपर्छ भन्ने सबैको निष्कर्ष थियो,’ छलफलको निचोडबारे जानकारी दिँदै लेखकले थपे, ‘अर्काे वर्षको भदौभित्र गर्नैपर्छ त्यो भन्दा उता जान पाइदैँन। त्यही भएर हरेक विकल्पमाथि छलफल गर्न थालिएको छ।’

कांग्रेस पाठशाला भन्ने संस्थाले सो वेविनारको आयोजना गरेको हो। वेविनारमा कांग्रेस नेता गगन थापा, रमेश लेखक, डीना उपाध्याय, जीवन परियार र गोविन्द पोखरेल थिए।

‘कांग्रेसको चार वर्षमा हुनुपर्ने महाधिवेशन विविध कारण एकवर्ष सारियो अहिलेपनि कोरोनाको कारण फागुनमा हुने संभावना सकियो, अब कसरी गर्न सकिन्छ भनेर मैले विकल्प प्रस्तुत गरेको थिएँ’, वेविनारबारे नेता गोविन्द पोखरेलले भने, ‘साढे चार महिनामा महाधिवेशन गर्न सकिने विकल्प प्रस्तुत गरेको छु।’

उनले मंसिरदेखि सो कार्यक्रम सुरु गर्न सकिने बताए। त्यसका लागि क्रियाशील सदस्यता र राजनीतिक प्रतिवेदन टुंगो लगाउनुपर्ने उनको भनाई छ।

‘फागुनमा महाधिवेशन हुने कुरा गाह्रो भएपछि अर्काे वर्षको भदौसम्ममा गर्नका लागि पनि विकल्पमाथि छलफल थालेका छौं,’ लेखकले भने।

अब नयाँ कार्यतालिका बनाउनुपर्ने र फागुनमै महाधिवेशन नहुने भएपछि सामान्य अवस्था रहे कसरी गर्ने र कोरोना नियन्त्रणमा आएन भने कसरी गर्ने भन्ने बैकल्पिक उपायबारे वेविनारमा छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .