ad ad

राजनीति


सार्क राष्ट्रहरुबीच कोरोनाले शिक्षामा पारेको असरबारे अनुभव आदान–प्रदान

सार्क राष्ट्रहरुबीच कोरोनाले शिक्षामा पारेको असरबारे अनुभव आदान–प्रदान

नेपालखबर
असोज २२, २०७७ बिहिबार १५:५०,

कोभिड–१९ ले शिक्षामा पारेको प्रभावका सन्दर्भमा सार्कका सदस्य राष्ट्रहरूमा भएका अभ्यास र अनुभवको आदन–प्रदान गर्न सार्क शिक्षा मन्त्रीस्तरीय भर्चुअल बैठक भएको छ।

नेपाल सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालय र सार्क सचिवालयको सहकार्यमा आयोजना गरेको सार्क शिक्षा मन्त्रीस्तरीय भर्चुअल बैठकमा सार्कका सबै सदस्य राष्ट्रहरूको सहभागिता रहेको थियो।

बैठकमा सदस्य राष्ट्रहरूबाट आ–आफ्नो देशमा कोभिड–१९ को संक्रमणले सिर्जना गरेको शैक्षिक समस्या तथा चुनौतिहरूको बारेमा उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न गरिएका प्रयासहरू, सदस्य राष्ट्रहरूमा भएका राम्रा अभ्यासहरू र आपसी सहकार्यका विषयमा आआफ्ना अनुभवहरूको आदन–प्रदान गरिएको थियो।

बैठकमा छलफल भएका विषयवस्तुहरूमा मुलतः दुर्गम क्षेत्रमा सिकाइ सहजीकरण, शैक्षिक संस्था पुनः सञ्चालन, शैक्षिक सत्रको कार्यान्वयन, शिक्षण सिकाइ सामग्री विकास, सार्वजनिक परीक्षाको व्यवस्थापन तथा शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग जस्ता विषयहरू समेटिएका थिए।

यसका साथै शिक्षा सम्बन्धी दिगो विकासको लक्ष्य र सार्क कार्ययोजना खाकाको कार्यान्वयनको विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ। सार्क मन्त्रीस्तरीय छलफलमा कोभिड–१९ लगायतका सबै प्रकारका महामारीमा आगामी दिनमा पारस्परिक सहयोग अझ मजवुत गराउने तथा सार्क सदस्य राष्ट्रहरूवाट विकास गरिएका विद्युतीय सामग्रीको प्रयोग र उच्च शिक्षामा फ्याकल्टी विकास जस्ता कार्यहरूमा सहकार्य गर्न सकिने बताइएको थियो।

बैठकको शुरुमा सार्कका महासचिवले सार्क मुलुकमा कोभिड–१९ को संक्रमणको समग्र अवस्थाको चर्चा गर्दै सार्क राष्ट्रको साझा अपेक्षाको बारेमा चर्चा गरेका थिए।

नेपालको शैक्षिक अवस्था र प्रयासहरूको सन्दर्भमा सचिव गोपीनाथ मैनालीले प्रस्तुत गरेका थिए भने बैठकको अध्यक्षता गरेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ जस्ता महामारीबाट शिक्षा क्षेत्रले व्यहोर्न पर्ने चुनौतीको सामना गर्न यस प्रकारको बैठकले क्षेत्रीय स्तरमा सामूहिक तत्परताको विकास गर्ने कुरामा जोड दिँदै सहभागी सबै राष्ट्रहरुलाई हार्दिक धन्यवाद दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .