ad ad

राजनीति


नेपाल विकास अभियानमा दौडिनका लागि बीआरआईका परियोजना कार्यान्वयन गराैँ: अध्यक्ष तिमिल्सिना

नेपाल विकास अभियानमा दौडिनका लागि बीआरआईका परियोजना कार्यान्वयन गराैँ: अध्यक्ष तिमिल्सिना

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार १०:२७,

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा चीनद्वारा सञ्चालित बेल्ट एण्ड रोड परियोजनाअन्तर्गतका आयोजनाहरु कार्यान्वयन गर्नुपर्ने बेला भएको बताएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजना अन्तर्गत छनोट भएका आयोजनाहरुलाई कार्यान्वयन गर्नुपर्ने बताएका हुन्।

‘महामहिम सि चिनफिङको भ्रमणका बेला हस्ताक्षर भएर आदान–प्रदान भएका २० वटै सहमति र सम्झौताको आर्थिक, रणनीतिक एवं कूटनीतिक महत्व छ। त्यसमध्ये पनि नेपाल र चीनलाई रेल सेवाबाट जोड्नका लागि सम्भाव्यता अध्ययन गर्न दुई देशबीच भएको समझदारी विशेष महत्वको छ,’ सो कार्यक्रममा बोल्दै तिमल्सिनाले भने, ‘यसबाट नेपालले लामो समयदेखि रेलसँग जोडिनका लागि देखेको सपनामात्र साकार हुने छैन, हाम्रो छिमेकी चीनको वैभव र उच्च आकांक्षालाई पनि एकसाथ विश्वसामु उजागर गर्नेछ।’

तिमिल्सिनाले दुवै देशका सरकारले सम्झौता गरेका आयोजनाहरुलाई छिटोभन्दा छिटो अघि बढाउन समर्थ हुने विश्वास व्यक्त गरेका थिए।

सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न बिआरआईले अघि सारेका आयोजनाहरूको सफलताले विशेष महत्व राख्ने तिमिल्सिनाको भनाइ थियो।

तिमिल्सिनाले नेपाल र चीनबीच भएको ट्रान्स–हिमालय कनेक्टिभिटी सम्बन्धी सम्झौताले दुई देशका साझा सरोकारलाई सम्बोधन गर्नेमा शंका नरहेको बताए।

SongTao China BRI

नेपाल विकास–निर्माणको अभियानमा हिड्न होइन, दौडिन चाहेको भन्दै अध्यक्ष तिमिल्सिनाले आर्थिक र सामाजिक रुपान्तरणमा नेपालले चीनको प्रगतिबाट सिक्न र सहकार्य गर्न चाहेको बताएका थिए।

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित सन्देश पढेर सुनाएका थिए।

कार्यक्रममा नेपालको तर्फबाट अध्यक्ष तिमिल्सिनाका साथै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता प्रकाश शरण महत, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आआफ्ना धारणा राखेका थिए।

त्यस्तै चीनको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग मन्त्री सोङ ताओ, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत कमिटीका सेक्रेटरी वु यिंगजी लगायतले बोलेका थिए।

चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको वार्षिकोत्सवका अवसर पारेर चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले चीन–नेपाल बेल्ट एन्ड रोड को–अपरेसनमा राजनीतिक दलहरूको प्रथम संयुक्त परामर्श सम्मेलन आयोजना गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .