ad ad

राजनीति


जापान र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर

जापान र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार ९:१,

 जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ। युरोपेली युनियनबाट बेलायतको बहिर्गमन पश्चात् पहिलो पटक भएको यो सबैभन्दा महत्वपूर्ण व्यापार सम्झौता हो।

नयाँ सम्झौता अनुसार बेलायतको योर्कशायर ल्याम्ब जापानमा बिक्री खुला हुनेछ भने जापानको मोटर निर्माता निसानका अटो पार्टस् बेलायतमा निकासी गर्न सहज हुनेछ। यी दुबै सामग्रीमा लाग्दै आएका करका दरहरुमा व्यापक कटौती हुने सम्झौतामा उल्लेख छ।

सम्झौता समारोहमा सम्बोधन गर्दै बेलायतका अन्तर्राष्ट्रिय व्यापार मन्त्री लिज ट्रसले उदाउँदो सूर्यको देश जापानसँग स्वतन्त्र व्यापार सम्झौता गर्न पाउँदा आफूहरुलाई खुसी लागेको बताए। उनले एक स्वतन्त्र हैसियतमा व्यापार गर्न खुला भएको बेलायतका लागि जापानसँगको सम्झौता ऐतिहासिक रहेको पनि बताए।

जापानसँगको व्यापार करिब २० अर्ब डलर वृद्धि हुने अपेक्षा गरिएको यस सम्झौताले बेलायती कम्पनीहरुलाई जापानमा व्यापार र व्यवसाय गर्न सहज हुने विश्वास गरिएको छ।

वित्तीय सेवाहरुले जापानमा बेलायती सामानको बिक्रीमा व्यापक सुधार हुने अपेक्षा गरेका छन्। अहिल्यै बेलायतको कूल निकासीमध्ये २८ प्रतिशत जापानमा हुने गरेको छ। बेलायतबाट आयात हुने कोट र जुत्ता, स्टिलटन चिज, सुँगुरको मासु र बिस्कुट समेतका सामानमा जापानी बजारमा अझ सस्तिने छन्।

सम्झौता समारोहमा बोल्दै जापानका विदेशमन्त्री तोसीमिचु मोटेगीले विगतदेखि बेलायतसँग रहँदै आएको व्यापारिक सम्बन्ध थप सुदृढ हुने बताउँदै ई–कमर्श र वित्तीय सेवा समेत जापानमा विस्तार हुने विश्वास व्यक्त गए।

जापानले यसअघि युरोपेली युनियनसँग स्वतन्त्र व्यापार सम्झौता गरेको थियो जसमा बेलायत पनि सामेल सदस्य थियो। तर युरोपेली युनियनबाट बेलायतको बहिर्गमन आगामी डिसेम्बरसम्म मात्र रहेकाले बेलायत र जापानबीच नयाँ सम्झौता भएको हो।

जापान र बेलायतबीच भएको व्यापार सम्झौतालाई दुबै मुलुकका संसदले अनुमोदन गरेपछि आगामी सन् २०२१ बाट यो सम्झौता लागू हुनेछ। जापानको संसदले अर्को साता नै यो सम्झौता अनुमोदन गर्ने सम्भावना छ।

जापानबाट बेलायतमा यसअघि वार्षिक करिब १४ अर्ब डलर बराबरको वस्तु तथा सेवा निर्यात हुने गरेको छ जसमा अधिकांश सामान सवारी साधन, तिनका पार्टस् र अन्य मेसिनरी रहेका छन्। रासस–एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .