ad ad

राजनीति


मोदीको सन्देश लिएर आएका थिए रअ प्रमुख गोयलः मुख्यमन्त्री पोखरेल

मोदीको सन्देश लिएर आएका थिए रअ प्रमुख गोयलः मुख्यमन्त्री पोखरेल

नेपालखबर
कात्तिक ८, २०७७ शनिबार १५:३९,

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले भारतीय गुप्चर संस्था रअका प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश वाहकका रुपमा नेपाल आएर प्रधानमन्त्री केपी ओलीसँग भेटेको बताएका छन्।

‘भारतीय प्रधानमन्त्रीको सन्देश वाहकका रुपमा रअका प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे। यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो। विरोधको योजना हो या नियती? बुझ्न गाह्रो भो’, पोखरेलले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गरौं। नेपाल र भारत बीचको सीमा समस्याको परिणाम सुखद होस्, कामना गरौं।’

भारतीय सेनाको विशेष विमानबाट बुधबार काठमाडौं आएका गोयलले मध्यराति प्रधानमन्त्री ओलीसँग करिब तीन घण्टा गोप्य भेटवार्ता गरेपछि सत्तारुढ र विपक्षी पार्टीबाट त्यसको चर्को विरोध भइरहेका बेला पोखरेलको भनाइ सार्वजनिक भएको हो।

पोखरेलले गोयल भारतीय प्रधानमन्त्री मोदीको सन्देश लिएर नेपाल आएको र प्रधानमन्त्री ओलीसँग नेपाल–भारत सीमा समस्याबारे छलफल गरेको बताएका छन्। तर गोयलले ल्याएको सन्देश के थियो र प्रधानमनत्री ओलीसँग सीमा समस्याबारे के छलफल भयो खुलाएका छैनन्।

RAW ShankarPokharel

रअ प्रमुख गोयललाई नेपाल भ्रमण गर्न उडान अनुमति दिएपनि नेपाल सरकारका कुनै पनि निकायले उनको भ्रमणबारे औपचारिक जानकारी दिएका थिएनन्।

बुधबार मध्यराति प्रधानमन्त्री ओलीले बालुवाटार निवासमा निम्त्याएर गोयलसँग ३ घण्टा भेटवार्ता गरेको खबर सार्वजनिक भएपछि र गोयलको टोली दिल्ली फर्केपछि मात्रै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘शिष्टाचार भेट भएको’ भन्दै प्रेस नोट जारी गरेका थिए, जसबाट भेटवार्ता भएको औपचारिक पुष्टि भएको थियो।

थापाले ‘समस्याहरूको वार्ताद्वारा समाधान गर्ने’ कुरा गोयलले राखेको बताएपनि नेपाल–भारत सीमा समस्याबारे छलफल भएको संकेत दिएका थिएनन्।

RAW PM Meeting SuryaThapa

अर्को दिन शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दा प्रधानमन्त्री ओलीले उक्त भेटघाटबारे केही उल्लेख गरेनन्। शनिबार पोखरेलले राखेको धारणा सल्लाहकार थापापछि गोयलसँग मध्यराति भएको भेटबारे सार्वजनिक रुपमा आएको दोस्रो भनाइ हो, जसमा ‘प्रधानमन्त्रीको विचार र काममा भरोसा’ गर्नुपर्ने तर्क गर्दै ‘नेपाल र भारत बीचको सीमा समस्याको परिणाम सुखद होस्’ भनेर कामना गरिएको छ।

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरी त्यसअनुसार संविधान संशोधन गरेपछि दिल्ली झस्किएर कुटनीतिक र राजनीतिक वार्ता ठप्प भएका बेला रअका प्रमुखलाई प्रधानमन्त्री आफैंले मध्यराति गोप्य भेटवार्ता गरेकोमा कुटनीतिक क्षेत्रबाट समेत विरोध भइरहेको छ।

कुटनीतिक विश्लेषकहरूले भारतको अघोषित नाकाबन्दीअघि झैं नेपाल–भारत सम्बन्धलाई ओलीले फेरि गुप्तचर संस्था रअकै वरिपरी फर्काएको टिप्पणी गरेका छन्।

बुधबार १ बजे काठमाडौं अवतरण गरेको गोयल नेतृत्वको नौ सदस्यीय रअको टोली २३ घण्टा काठमाडौंमा बिताएर बिहीबार बिहान १० बजे दिल्ली फर्केको थियो।

सुरक्षा अधिकारीहरूले गोयलले काठमाडौंमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटेको दाबी गरेपनि तिनै जना नेताले त्यस्तो भेटघाट नभएको बताएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .