हिन्दुस्तान टाइम्सका अनुसार हाल जाडो याम सुरु हुन लाग्दा चीन र भारतका सेनाबीच लद्दाख नजिकैको विवादित क्षेत्रबाट आफ्ना सेनालाई पछाडि हटाउने विषयमा छलफल चलिरहेको छ।
जाडो याममा लद्दाखको सीमामा माइनस ४० डिग्री सेल्सियससम्म तापक्रम घट्छ। जाडो सुरु हुनासाथ यहाँ बाक्लो हिउँले सडक पुर्छ। यी क्षेत्र ६ महिनाका लागि ठप्प हुन्छन्।
बाँच्न नै मुश्किल हुने भएकाले जाडो समयमा दुई देशका सेनाबीच धक्का–मुक्की नहुने अपेक्षा गरिएको थियो। तर यसपटक भने दुवै देशका सेनाले जाडोका तयारी गरिरहेका छन्।
उनीहरुले जाडो समयभर पुग्दो खाद्यान्न र गोलीगठ्ठा विवादित क्षेत्र नजिक पुर्याएका छन्। यसबीचमा दुवै देशका सेनाले तत्काल सेनाहरु विवादित क्षेत्रबाट पछाडि हटाउने विषयमा महत्वपूर्ण छलफल गरिरहेका हुन्।
यस प्रस्तावमा आपसी सहमति भए चार महिनायता जारी गतिरोध अन्त्य हुनेछ। गत जुलाईमा पनि आफ्ना सेनालाई विवादित क्षेत्रबाट हटाउने भनेर दुवैबीच सम्झौता भएको थियो।
तर गलवान उपत्यकाबाट मात्र सेनाहरु पछाडि हटेका थिए। जाडो याममा यस क्षेत्रको अवस्था खराब हुने भएकाले दुवैदेशले सेनालाई पछाडि हटाउन सहमति जनाउने अपेक्षा गरिएको छ। एजेन्सी
प्रतिक्रिया