ad ad

राजनीति


मानवअधिकार महाभेला देशभर मनाइने

मानवअधिकार महाभेला देशभर मनाइने

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार १२:८,

७२ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा ‘रिकोभर बेटर स्ट्याण्ड फर ह्युमन राइट्स’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘महामारीमा मानवअधिकारः स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार’ राष्ट्रिय नाराका साथ मानवअधिकार राष्ट्रिय महाभेला २०७७ देशभर मनाइने भएको छ। मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको आज ७२ वर्ष पुगेको अवसरमा नेपालमा पनि जनस्वास्थ्यलाई मानवअधिकारको मुख्य विषय मानेर सातवटै प्रदेश र ७७ वटा जिल्लामा महाभेलाका गतिविधि हुन लागेको हो।

विश्वभरि फैलिएको कोरोनाको संक्रमणका कारण जनस्वास्थ्यका मापदण्ड पालना गरी यो वर्ष भर्चुअलरुपमा कार्यक्रम हुने तय भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मानवअधिकार राष्ट्रिय महाभेला, २०७७ का संयोजक गोविन्दबहादुर शाहीले जानकारी दिए। भोलिदेखि सुरु हुने महाभेलाको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उद्घाटन गर्नेछन्।

महाभेलामा मुलुकभरका मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा कार्यरत संस्थाको सक्रिय सहभागिता हुनेछ। देशभर प्रदेशस्तरीय, जिल्लास्तरीय र अन्य विषयगत सवालमा आधारित भएर विभिन्न कार्यक्रम हुनेछन्। अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०) लाई बृहतरुपमा मनाउन सन् २००९ मा नेपालमा मानवअधिकार तथा सामाजिक न्यायको क्षेत्रमा कार्यरत संस्थाको अगुवाइमा मानवअधिकार राष्ट्रिय महाभेला आयोजना गरी राष्ट्रिय मानवअधिकार आयोगसँगको सहकार्यमा सञ्चालन हुँदै आएको छ।

वार्षिकरुपमा मानवअधिकार महाभेला विभिन्न संस्थाले संयोजन गर्ने परम्परा रहेको छ। पाँच दिनसम्म सञ्चालन हुने १२ औँ मानवअधिकार राष्ट्रिय महाभेलाको संयोजन कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक), सहसंयोजन नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र मानवीय जवाफदेहिता अनुगमन अभियान (हामी) ले गर्नेछ।

कोभिड महामारीका कारण मानवअधिकारको अवस्था जटिल बनिरहेको समयमा आयोजना हुने महाभेलाले ऐन कानूनमा मानवअधिकारको प्रष्ट व्याख्या भए तापनि कार्यान्वयनको पाटोलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने मूल आयोजक समारोह समितिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिम भनिएको छ, ‘नेपालमा जातीय, लैंगिक, क्षेत्रीय तथा भाषिकरुपमा पनि मानवअधिकार उल्लंघनका घटना बढेको महसुस भएको छ, जातीय विभेद, छुवाछूत, बलात्कार, हत्या, हिंसालगायतका घटना दिन प्रतिदिन बढ्दो दरमा भइरहेका छन्, यस्तो अवस्थामा सबै क्षेत्रबाट एकजुट भई मानवअधिकारको संरक्षण र सम्वद्र्धनमा लाग्नुपर्ने देखिन्छ।’

यो महाभेलाले मुलुकमा रहेको मानवअधिकारको अवस्थालाई चित्रित गर्ने, मानवअधिकारको अवस्थालाई अझ सुदृढ बनाउन मार्गनिर्देश गर्ने, मानवअधिकारप्रतिको प्रतिबद्धता कार्यान्वयनप्रति जिम्मेवारी बोध गराउनका साथै ऐक्यबद्ध आवाज निर्माण गर्न यो अभियानलाई सशक्त र प्रभावकारी बनाउन आह्वान गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .