राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको गलत रवैयाका कारण प्रतिगामीहरु सलबलाउन थालेको आरोप लगाएका छन्।
‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गराैँ, संघीयता र भ्रष्टाचारको विरोध गरौँ’ भन्ने नारासहित राष्ट्रिय जनमोर्चाले बिहीबार बुटवलमा आयोजना गरेकाे सभामा बोल्दै अध्यक्ष केसीले अहिले देशको अवस्था २०१७ साल पुष १ गते भन्दा अघिको जस्तो रहेको बताए।
उनले नेपाली जनताले लामो समयसम्म कुरबानी गरेर ल्याएको गणतन्त्रको रक्षा गर्नुपर्ने उल्लेख गर्दै सत्तापक्ष र प्रतिपक्षले गणतन्त्रको दुरूपयोग गरेको आरोप लगाए। सत्तापक्ष र प्रतिपक्षबाटै प्रतिगमनको खतरा रहेको केसीको भनाई थियो।
अध्यक्ष केसीले शक्ति र सत्तामा पुग्नका लागि भारतीय शासकहरूलाई खुसी पार्ने परम्परा कायमै रहेको भन्दै यसका बिरुद्व जनतलाई सचेत गराउनुपर्ने बताए। दक्षिणतिरबाट नेपालको भूगोलमाथि आक्रमण भइरहेको उनको दावी थियो।
छिमेकीले नेपालमा हिन्दु राज्य कायम गराउन खोज्दा पनि सत्तापक्ष र प्रतिपक्ष मौन रहेकाले सत्ता पक्ष र प्रतिपक्षबाट पनि प्रतिगमनको खतरा रहेको अध्यक्ष केसीको तर्क छ।
अहिलेको पुँजीवादी गणतन्त्र सबै नभएको र जनताको गणतन्त्र आउन बाँकी रहेको उल्लेख गर्दै जनताले चाहेको गणतन्त्र ल्याउन परिवर्तनका उपलब्धिहरूको रक्षा गर्नुपर्ने बताए।
गणतन्त्रको विकल्प राजतन्त्रको कल्पना पनि गर्न नसकिने बताउँदै उनले हिजो राजाबाट फाइदा लिएकाहरू आज सडकमा नारा लगाउँदैमा राजतन्त्र फर्कन सम्भव छैन भने।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले नेपाललाई हिन्दु राज्य बनाउने षड्यन्त्र भइरहेकाले जनतालाई सचेत बनाउनुपर्ने र गणतन्त्रवादी शक्ति एक ठाउँमा उभिनुपर्नेमा जोड दिए।
उनले सत्तामा रहेको नेकपा कम्युनिस्ट पार्टी नभएको दावी गर्दै नामले मात्र कोही पनि कम्युनिस्ट हुन नसक्ने बताए। सत्तापक्षले सत्ता र शक्तिको दुरूपयोग गरेर भ्रष्टाचार गर्दा पनि प्रतिपक्ष बोल्न नसकेको बताउँदै भ्रष्टाचारमा सत्तापक्ष र प्रतिपक्षको तालमेल रहेको दाबी गरे।
अध्यक्ष केसीले नेपालमा संघीयता अफापसिद्ध भएकोले जतिसक्दो छिटो खारेज गरेर प्रजातान्त्रिक विकेन्द्रियतामा आधारित एकात्मक शासन प्रणाली अपनाउनुपर्ने बताए।
राष्ट्रिय जनमोर्चाले प्रतिगमनको खतरा विरुद्ध र संघीयता खारेजीको माग गर्दै देशब्यापी विरोध कार्यक्रमको आयोजना गरेको हो।
प्रतिक्रिया