सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ सुरु भएको छ।
सर्वोच्चले सुनुवाईका लागि बुधबार बिहान प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको इजलास गठन गरेको छ।
मल्लबाहेक बाँकी सबै न्यायाधीश यसअघिको इजलासमा पनि सहभागी थिए भने मल्ललाई न्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा बुधबार इजलासमा लगिएको हो।
न्यायाधीश कार्की केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेका कारण इजलासमा बस्न नहुने भन्दै न्यायाधीशहरुले प्रश्न उठाएपछि उनी इजलासबाट बाहिरिएका थिए।
बुधबारको सुनुवाइमा नेकपाका तर्फबाट रिट निवेदकमध्येका एक देवप्रसाद गुरुङ पनि सहभागी छन्। नेता गुरुङले उक्त रिटमाथि बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने माग गरेका छन्। यसअघिको सुनुवाईमा रिट निवेदक वकिलहरुमात्र सहभागी हुँदै आएका थिए।
उक्त विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बुधबार बिहानको बहस सुरु गरेका हुन्।
प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए।
बुधबारबाट उक्त रिटमाथि संवैधानिक इजलासमा निरन्तर सुनुवाई हुँदैछ।
प्रतिक्रिया