नेकपाका दुवै पक्ष आज (शुक्रबार) निर्वाचन आयोग जाँदै छन्।
आयोगले हिजाे गरेकाे पत्राचारअनुसार दुवै पक्षका नेताहरु छलफलका लागि त्यहाँ जान लागेका हुन्।
आयोगले निर्वाचनसँग सम्बन्धित विषयमा छलफल गर्न दुवै पक्षका ५/५ प्रतिनिधिलाई आज साढे ११ बजे कार्यालय उपस्थित हुन भनेको छ।
आयोगले ५/५ जनालाई बोलाएको भए पनि प्रचण्ड-नेपाल पक्षबाट ३ तथा ओली समूहबाट भने ७ जना जाने तयारी गरेका छन्।
जसअनुसार प्रचण्ड-नेपाल समूहबाट राजेन्द्र पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान निर्वाचन आयोग जाँदै छन्।
अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल नै जाने तयारी भए पनि उनीहरु अहिले उपत्यकाभन्दा बाहिर रहेकाले ३ जना मात्र जान लागिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए।
उता ओली पक्षबाट भने महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङसहित ७ जना जाने तयारीमा छन्।
अन्यमा कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयाल, राष्ट्रियसभा सदस्य विमला राई पौडेल तथा कानुनविदहरु बाबुराम दाहाल र रमेश बडाल निर्वाचन आयोग जाँदै छन्।
प्रतिक्रिया