गत महिनादेखि म्यान्मारमा सैन्य शासन लागू भएको छ।
सेनाले लोकतन्त्रवादी नेतृ आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहित शीर्ष नेताहरुलाई नजरबन्दमा राखेर सत्ता हत्याएका हुन्।
सुचीको पार्टीले धाँधली गरेर चुनाव जितेको र सरकारमा आएको सेनाको आरोप रहेको छ। सेनाले एक वर्षपछि मात्र सैन्य शासन अन्त्य गर्ने र आम निर्वाचन जित्ने दललाई सत्ता हस्तान्तरण गर्ने बताएका छन्।
त्यसयता लगातार सेना तथा प्रहरीले लोकतन्त्र पुनर्स्थापना हुनुपर्ने भन्दै थालिएको आन्दोलनमा होमिएका व्यक्तिहरु माथि दमन जारी राखेका छन्।
बुधबार मात्र सेना तथा प्रहरीले गोली चलाउँदा म्यान्मारमा ३८ जनाको मृत्यु भएको छ। यद्यपी आन्दोलन अझै रोकिएको छैन।
यसबीचमा भारत पुगेका प्रहरीले जुन्ता शासक ‘सैन्य शासक’ले जनतामाथि क्रुर व्यवहार गर्न लगाएपछि आफूहरु भारत भागेको बताएका छन्।
ती प्रहरीहरु म्यान्मारसँगको भारतीय सीमा क्षेत्र चम्पाइ र सरचिप आइपुगेका छन्। भारतीय अधिकारीहरुका अनुसार तीसबै प्रहरीहरु सानो ओहदाका प्रहरीहरु हुन्।
सरचिप प्रहरीका प्रमुख स्टेफन लालरिन्वामा भन्छन्,‘उनीहरु यहाँ शरण खोजिरहेका छन्। उनीहरुले सैन्य शासकले भनेको आदेश पालना गर्न नसकेर देश छाडेर भागेको बताएका छन्।’
उनीहरु हतियार बिना नै भारत आइपुगेका जानकारी दिइएको छ। भारतीय अनुसन्धान एजेन्सीका अनुसार प्रहरीसँगै अन्य मानिसहरु पनि भारत आउन सक्छन्।
यसअघि नै म्यान्मार सरकारको दमनमा परेको भन्दै रोहिन्ज्या मुसलमान समुदायका सयौं मानिसहरु भारतमा शरणार्थी जीवन विताइरहेका छन्। एससीएमपी
प्रतिक्रिया