राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर जबराले राष्ट्रपतिको भूमिका निष्पक्ष र स्वतन्त्र हुन नसकेकोले राजसंस्था अवश्यक भएको बताएका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले पहिलो र बाहलवाला दुवै राष्ट्रपतिको भूमिका निष्पक्ष र स्वतन्त्र नभएको दावी गरे। पार्टीको नेता राष्ट्रपति भएकोले उनीहरुको भूमिका निष्पक्ष हुन नसके भन्दै उनले राष्ट्रपतिको भूमिका पार्टीभन्दा माथि उठ्न नसकेको दावी गरे।
‘नेपालमा राजसंस्था अन्त्य भएको ११ वर्ष भैसक्यो, अहिलेको राष्ट्रप्रमुख राष्ट्रपतिको भूमिका पार्टीभन्दा माथि उठ्न सकेन्’, उनले भने।
अध्यक्ष जबराले आफ्ना जिजु काकाले दिएको दरबारले पनि नपुगेर अहिले राष्ट्रपति शीतलनिवास नजिकै रहेको प्रहरी तालिम केन्द्रको जग्गा पनि सोखको लागि राष्ट्रपति कार्यालयको बनाउने काम गरेकोमा आपत्ति जनाए। ‘राष्ट्रपतिले आफ्नो सोख पुरा गर्नको लागि अहिले पुलिस एकेडेमीलाई पहाडतिर धकेल्ने काम गर्नुभयो’, उनले भने। उनले राजसंस्थाले मात्रै निष्पक्ष राष्ट्रप्रमुखको भुमिका निर्वाह गर्नसक्ने समेत दावी गरे।
आफूहरुले राजसंस्थासहितको प्रजातन्त्र भनेका भन्दै उनले यस विषयमा बहस गर्न समेत आग्रह गरे। उनले ८१ प्रतिशत हिन्दूहरु भएको र ९४ प्रतिशत ॐकार परिवार बस्ने प्रकृतिको मुलुकलाई धर्मनिरपेक्षता बनाएकोमा आक्रोश पोखे। ‘अब यो देशलाई हिन्दूराष्ट्र बनाउन अत्यावश्यक छ’, उनले भने, ‘हामीले संविधान जारी गर्दा पनि यो कुरा जोडदार रुपमा उठाएका थियौं ।’
अध्यक्ष राणाले पूर्वराजासँग नतर्सन नेकपा अध्यक्षद्वयलाई आग्रह् समेत गरे। नेकपा अध्यक्ष प्रचण्डले पूर्वराजालाई दिएको चेतावनीबारे पत्रकारले सोधेको प्रश्नमा उनले राजा म फिर्ता आउँछु भन्दै नहिँडेको बताए। ‘राजाले म फर्किन्छु भनेर हिँड्नुभएको छैन्। उहाँले भाषण गर्नुभएको छैन। उहाँ जहाँ जानुहुन्छ, त्यहाँ जनताको भीड लाग्छ, त्यो कुन ठूलो अपराध हो?’, उनले प्रश्न गरे।
अध्यक्ष जबराले आफूहरु र राप्रपाबीच एकताको लागि वार्तालापको अवस्थामा भने पुगि नसकेको स्पष्ट पारे।
प्रतिक्रिया