ad ad

राजनीति


आज मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री राई, प्रचण्ड र नेपालको साथ छाडेकालाई मन्त्री बनाइँदै

आज मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री राई, प्रचण्ड र नेपालको साथ छाडेकालाई मन्त्री बनाइँदै

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ५:१०,

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्।

नयाँ मन्त्रीहरूलाई आजै दिउँसो शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्रीमा बढुवा हुने भएका छन्। दुवै जनालाई आआफ्नै मन्त्रालयमा मन्त्रीको जिम्मेवारी दिइने भएको हो।

यस्तै माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका टंक आङ्बोहाङलाई आर्थिक मामिला तथा योजनामन्त्री, माधवकुमार नेपालको समूह छाडेर आएकी उषाकला राईलाई सामाजिक विकासमन्त्रीको जिम्मेवारी दिइने भएको छ।

यसैगरी प्रदेशसभा सदस्य कला घलेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र राजकुमार ओझालाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनाउने तयारी छ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर अभियान चलाएपछि इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजनामन्त्री पदबाट गत पुस ११ गते बर्खास्त गरिएको थियो। त्यसयता यो मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राई आफैंले सम्हालिरहेका छन्।

यस्तै तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरे, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले गत पुस १२ गते राजीनामा दिएका थिए।

तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। जुन प्रदेश सभामा टेबल भइसकेको छ।

त्यसयता अल्पमतमा परेका मुख्यमन्त्री राई सर्वोच्च अदालतले नेकपा भंग र यसमा मिसिएका नेकपा एमाले र माओवादी केन्द्र नै कायम गर्ने फैसला गरेपछि पुनः बलियो भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .