ad ad

राजनीति


गृहमन्त्री थापाको पनि सांसद पद खारेज

गृहमन्त्री थापाको पनि सांसद पद खारेज

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ४:३५,

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सांसद पदबाट बर्खास्त भएका छन्।

आफ्नो पार्टी परित्याग गरेर नेकपा एमाले (ओली समूह) मा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि उनको राष्ट्रिय सभा-सदस्य पद खारेज भएको हो।

माओवादी केन्द्रले दर्ता गराएको सूचनाअनुसार संघीय संसदले उनको सांसद पद खारेज भएको जानकारी गराएको हो।

हेर्नुहोस्, सूचना :

badalbarkhasta

योसँगै उनको मन्त्री पद पनि गएको छ तर सांसद नरहँदा पनि ६ महिनासम्म पुनः मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ। त्यसपछि भने उपनिर्वाचनबाट सांसद पदमा निर्वाचित हुनुपर्ने हुन्छ। अन्यथा मन्त्री रहन पाइन्न।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय गरेपछि तत्कालीन नेकपा दुई समूहमा विभाजन भएको थियो। त्यस क्रममा प्रचण्ड छाडेर गृहमन्त्री थापासहित माओवादीका २३ जना केन्द्रीय नेता ओली समूहमा सामेल भएका थिए। संसद् पुनःस्थापनाको फैसलापछि सर्वाेच्च अदालतले गत फागुन २३ गते नेकपाको एकता अवैधानिक भएको ठहर गर्दै यसमा मिसिएका एमाले र माओवादी केन्द्र नै अलग–अलग दलका रूपमा कायम रहेको फैसला गर्‍यो।

त्यसपछि नेकपामा रहेका दुई दलका नेताहरू आआफ्ना पार्टीमा फर्के पनि गृहमन्त्री थापासहित २३ नेता एमाले अर्थात् ओली समूहमै रहे। तसर्थ नेकपा माओवादी केन्द्रले उनीहरूलाई स्पष्टीकरणपछि पार्टीको साधारण सदस्यबाटै बर्खास्त गरेको हो भने सांसद रहेकालाई राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफू निर्वाचित भएको पार्टी छाडेपछि सांसद पद पनि जाने प्रावधानअनुरूप संघीय संसदलाई कारबाही अघि बढाउन सूचना गरेको हो।

सोहीबमोजिम संघीय संसदले उनीहरूको सांसद पद खारेज गरेको हो।

यसअघि प्रतिनिधि सभामा सांसद रहेका पूर्वमाओवादी टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र उमाशंकर चौधरीको पद खारेज भइसकेको छ भने मन्त्रीसमेत रहेका उनीहरूलाई प्रधानमन्त्री ओलीले पुनः मन्त्री पदमा नियुक्ति गरिसकेका छन्।

पहिलेदेखि नै सांसद नरहेका तर पार्टीको कारबाहीमा परेका पूर्वमाओवादी नेताहरू मणि थापा र दावा लामालाई पनि प्रधानमन्त्री ओलीले ६ महिने मन्त्री बनाएका छन्। अहिले उनको मन्त्रिमण्डलमा यस्ता प्रकृतिको मन्त्रीको संख्या ६ पुगिसकेको छ। थापाको पुनर्नियुक्ति हुँदा यस्तो मन्त्रीको संख्या ७ पुग्नेछ।

एमालेको ओली समूहमा प्रवेश गरेका प्रदेशतिरका सांसदलाई पनि माओवादी केन्द्रले कारबाही गर्दै पद खारेजका लागि सूचना गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री थापासहित माओवादी केन्द्रबाट आएका २३ नेतालाई आफ्नो पार्टीको केन्द्रीय सदस्य बनाएका छन्। सर्वाेच्च अदालतले नेकपा बदरको फैसला गरेपश्चात् अध्यक्ष ओलीले गत फागुन २८ गते आफूनिकट केन्द्रीय सदस्यलाई मात्र बोलाएर बैठक राखी झलनाथ खनाल–माधव नेपाल पक्षका नेताका सबै पद र जिम्मेवारी खोस्दै ती २३ जना पूर्वमाओवादीलाई केन्द्रीय सदस्यमा मनोनयनको निर्णय गरेका हुन्।

त्यही कारण अलग भएको नेपाल पक्षले अहिले देशव्यापी रूपमा एमालेका समानान्तर कमिटी बनाइरहेको छ भने ओलीले माधव नेपालसहित उनी पक्षका भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि भन्दै पार्टीको साधारण सदस्यताबाटै निलम्बन गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .