गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन्।
उनले प्रदेश प्रमुख सीता पौडेल समक्ष आइतबार राजीनामा बुझाएका हुन्।
आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुने एकदिन अघि नै उनले पदबाट राजीनामा बुझाएका हुन्।
उनले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम आफूले राजीनामा दिएको उल्लेख गरेका छन्।
संविधानको सो धाराको उपधारामा मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिएमा मुख्यमन्त्री तथा मन्त्रीको पद रिक्त हुने उल्लेख गरिएको छ।
मुख्यमन्त्रीले राजीनामासँगै धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न आह्वान पनि गरेका छन्।
संविधानको धारा १६८ का उपधारा २ मा मन्त्रिपरिषद गठनसम्बन्धी व्यवस्था गरिएको छ।
सो धाराको उपधारा ३ मा भनिएको छ,‘ प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ।’
यसको मतलव मुख्यमन्त्रीले विपक्षी गठबन्धनलाई सरकार गठन गर्ने बाटो खोलिदिएका छन्।
संविधानको धारा १६९ को उपधारा ३ अनुसार अर्को सरकार गठन नभएसम्म यही सरकारले कामचलाउ काम गर्ने छ।
संविधानको सो धाराको उपधारा ३ मा मुख्यमन्त्रीको पद रिक्त भए तापनि अर्को प्रदेश मन्त्रिपरिषद गठन नभएसम्म सोही मन्त्रिपरिषदले कार्य सञ्चालन गर्नेछ भन्ने उल्लेख गरिएको छ।
२०७४ साल फागुन ४ गते मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङको राजीनामापछि विपक्षीहरु नयाँ सरकार गठनको प्रक्रियामा लागेका छन्।
उनको राजीनामापछि संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको पनि औचित्य सकिएको छ।
प्रतिक्रिया