ad ad

राजनीति


८ मन्त्री र २ राज्यमन्त्रीसहित जसपाको ठाकुर पक्ष सरकारमा जाने पक्का

८ मन्त्री र २ राज्यमन्त्रीसहित जसपाको ठाकुर पक्ष सरकारमा जाने पक्का

सागर न्यौपाने
जेठ १६, २०७८ आइतबार १३:४७,

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ।

जसपाले अघि सारेका माग–मुद्दा सम्बोधन भएकोले ओली सरकारमा सहभागी हुने निर्णय गरिएको ठाकुरनिकट केन्द्रीय कार्यकारिणी समिति सदस्य शरतसिंह भण्डारीले बताए।

‘सरकारमा जाने कुरा निश्चित हो,’ भण्डारीले नेपालखबरसँग भने, ‘एकदुई दिन लाग्न सक्छ।’

ठाकुर पक्ष ओली सरकारमा सहभागी भए जसपा औपचारिक रुपमा विभाजन हुनेछ।

भण्डारीले सकभर पार्टी विभाजन नहुनेगरी सरकारमा जानुपर्ने सुझाव आएकोले एकदुई दिन कुरेको दाबी गरे।

‘पार्टी एकता बचाएर सरकारमा सहभागी हुन खोजेको हो,’ भण्डारीले भने, ‘पार्टी एकढिक्का भयो भने त्यसैअनुसार सरकारमा जाने नेताहरुको टुंगो लाग्छ, नभए अहिले भएकै मध्यबाट पठाइन्छ।’

जसपालाई सरकारमा ८ वटा मन्त्रालय दिने सहमति जुटेको अर्का सांसद प्रमोद साहले बताए।

‘८ वटा मन्त्रालय र २ राज्यमन्त्री लिएर हामी सरकारमा जान्छौँ,’ साहले भने, ‘राजेन्द्र महतोको लिडरसिपमा सरकारमा जाने तयारी भएको छ। तर, अन्तिममा लिडरसिप परिवर्तन पनि हुनसक्छ। त्यसमा मन्त्रालयको जिम्मेवारीले अर्थ राख्छ।’

मन्त्री बन्न चाहनेहरुको सूची भने लामो छ। आकांक्षी धेरै भएकाले निर्णय गर्न नसक्दा केहीअघि नै सरकारमा जाने तयारी गरिए पनि अहिलेसम्म रोकिएको नेताहरुले बताए।

‘मन्त्री बन्न चाहने साथीहरु धेरै हुनुहुन्छ, त्यसलाई व्यवस्थापन गर्न नसक्दा केही दिन लम्बियो,’ ठाकुर निकट एक कार्यकारिणी सदस्यले नेपालखबरसँग भने, ‘प्रत्यक्ष निर्वाचित र केही समानुपातिक सांसदलाई मन्त्री बनाउने कुरामा लगभग सहमति छ।’

यादव पक्षबाट ठाकुर समूहतर्फ लागेका विमल श्रीवास्तव, उमाशंकर अरगरिया, रुही नाज, कलुदेवी विश्वकर्मा र रेनुका गुरुङले मन्त्रीमा दाबी गरेका छन्। उनीहरु मन्त्रीको अफर पाएपछि ठाकुर पक्षमा लागेको स्रोतको भनाइ छ।

ठाकुरनिकट स्रोतका अनुसार विघटित संसदको सदस्य नरहेका उमाकान्त झा, सर्वेन्द्रनाथ शुक्ला, अकवाल अहमद साह, वृषेशचन्द्र लालले पनि मन्त्री बनाउन लबिङ गरेका छन्।

राजेन्द्र महतो, चन्दा चौधरी, अनील झा, राजकिशोर यादव, प्रमोद साह, चन्द्रकान्त चौधरी, शरतसिंह भण्डारी र अकवाल मियाँको पनि मन्त्रीमा दाबी छ।

जसपाको संसदीय दलमा ठाकुर–महतो पक्षको बहुमत छ। उनीहरुको पक्षमा २० सांसद छन्।

जसपा विभाजन हुने निश्चित
जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले ठाकुर लगायतका महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ। सो स्पष्टीकरणको पनि जवाफ नदिएपछि चारै जनालाई कारबाही गर्ने तयारी छ।

त्यसो त, ठाकुरले पनि उपेन्द्र यादवलाई बुधबार स्पष्टीकरण सोधेका थिए।

उपेन्द्र–बाबुराम पक्षले कारबाहीको घोषणा गरेलगत्तै महन्थ–राजेन्द्र पक्षले सरकारमा सहभागी हुने र राजपा ब्युँताएर जाने तयारी गरिसकेको अर्का एक नेताले बताए।

ठाकुरनिकट ती प्रभावशाली नेताले जसपा एक रहने सम्भावना सकिइसकेको बताए।

‘उपेन्द्रजी र बाबुरामजीले समाजवादी केन्द्र बनाएर जानेगरी ओलीको विरुद्धमा पूर्वकम्युनिस्टहरुको गठबन्धन बनाइसक्नुभयो। अब उहाँहरु प्रचण्डजीसँग एकदमै नजिक भएर अलायन्समा जोडिनुभएको छ, यस्तो अवस्थामा जसपा एकढिक्का हुन कठिन छ,’ उनले भने।

ठाकुर निकट अर्का एक नेताले त आगामी आइतबारसम्म जसपा विभाजन भइसक्ने दाबी गरे।

‘आउने आइतबारसम्म यसको छिनोफानो भइसक्छ,’ उनले भने।

तर, भण्डारी भने उपेन्द्र–बाबुरामसँग अन्तिम पटक छलफल गर्ने प्रयास भइरहेको बताए।

‘हामी अन्तिम पटक उपेन्द्रजीसँग छलफल गर्छौँ,’ भण्डारीले भने, ‘सकिन्छ मिलाएर लैजान्छौँ, सकिँदैन भने आआफ्नो बाटो लाग्नुपर्छ होला।’

२०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीबीच एकता भएर जसपा बनेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनलाई सहज पार्ने गरी २०७७ वैशाख ८ गते अध्यादेश ल्याएपछि वैशाख १० गते उनीहरुले एकता गरेका थिए। ओलीले पुस ५ मा संसद् विघटन गरेपछि सो पार्टीमा विवाद उत्पन्न भएको हो।

महन्थ ठाकुरले प्रधानमन्त्री ओलीको समर्थन गर्दा उपेन्द्र–बाबुरामले सो कदमप्रति तत्काल सडक आन्दोलन घोषणा गरेका थिए।

त्यसयता जसपाले उठाउँदै आएको मुद्दा फिर्ता, नागरिकता कानुन संशोधन लगायत माग ओलीले पुरा गरेका छन्।

उपेन्द्र–बाबुराम पक्षले पनि प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेको छ।

जसपाको कार्यकारिणीमा भने उपेन्द्र पक्ष बहुमतमा छ। ५१ सदस्यीय कार्यकारिणीमा उपेन्द्रको पक्षमा ३१ जना रहेको सो पक्षको दाबी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .