नेकपा एमालेनिकट १० जनसंठनले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको हत्या गर्ने दिने बागमती प्रदेश सभाका सदस्य नरोत्तम वैद्यलाई कारबाही गर्न माग गरेका छन्।
गृहमन्त्री खगराज अधिकारीलाई सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा ज्ञापनपत्र दिँदै ती संगठनले प्रधानमन्त्री ओलीको ज्यानमाथि धावा बोल्ने गरी वैद्यले दिएको अभिव्यक्ति मुलुकको फौजदारी कानुनविपरीत हुने भएकाले उनलाई अविलम्ब गिरफ्तार गरी कानुनी कारबाही गर्न माग गरेका हुन्।
मुलुकको कार्यकारी प्रमुखविरुद्ध यस्तो गम्भीर र आपत्तिजनक अभिव्यक्ति प्रदेश सभामा दिइएको विषयप्रति नेपाली कांग्रेसले अझैसम्म औपचारिक धारणासमेत सार्वजनिक नगरेकोप्रति ती संगठनले आपत्ति जनाएका छन्।
राससका अनुसार गृहमन्त्री अधिकारीलाई नेपाल किसान महासंका अध्यक्ष डा. प्रेम दंगाल, अखिल नेपाल महिला संघकी सहसंयोजक थममाया थापा, विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष ऐन महर, राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, मुस्लिम इत्तिहास संगठनका उपाध्यक्ष इश्रत साह, पेशागत महासंघ नेपालका अध्यक्ष बाबुराम थापालगायतले भेटी ज्ञापनपत्र बुझाएका थिए।
केही दिनअघि बागमती प्रदेश सभा बैठकमा प्रदेश सांसद वैद्यले प्रधानमन्त्री ओलीविरुद्ध उत्रन आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए। गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए।
तर वैद्यले त्यसको भोलिपल्टै आफूले भावावेशमा आएर अलि बढी नै बोलिएको भन्दै प्रदेश सभा बैठकमा माफी मागिसकेका छन्।
प्रतिक्रिया