म्यानमारको सैनिक सरकारले दुई हजार ३ सय बन्दीलाई रिहा गरेको छ।
सेनाले सत्ता कब्जा गरेको विरोधमा प्रदर्शन गर्दा पक्राउ परेर कारागारमा राखिएकामध्ये दुई हजार ३ सय बन्दीलाई बुधबार रिहा गरिएको हो।
रिहा हुनेमा केही पत्रकार पनि छन्। देशको खस्कँदो अवस्थाबाट मानिसको ध्यान अन्यत्र स्थानान्तरण गर्न उनीहरुलाई रिहा गरेको अनुमान कतिपयले गरेका छन्।
राजबन्दीहरुको अधिकारसम्वन्धी एउटा समूहका अनुसार देशभरीबाट पाँच हजार २१० जनालाई कारागारमुक्त गर्ने अपेक्षा गरिएको थियो।
म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेपछि त्यसको विरुद्धमा आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा सयौँको मृत्यु भएको छ भने अरु हजारौँ घाइते र बन्दी भएका छन्। आन्दोलन अहिले पनि जारी छ।
सेनाले सत्ता कब्जामा लिएर चर्चित प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलगायत केही शीर्षस्थ नेतालाई नियन्त्रणमा लिएकाले पनि आन्दोलन बढी चर्किएको हो । सेनाले नियन्त्रणमा लिएका नेतालाई भ्रष्टाचारलगायतका विभिन्न मुद्दा लगाएको छ।
उनीहरुलाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको भन्दै मुद्दा फिर्ता लिन र तत्काल रिहा गर्न आन्दोलनकारीले माग गर्दै आएका छन्।
सेनाको कदमको विश्वभरबाट विरोध भइरहेको छ । कतिपय देश तथा अन्तरष्ट्रिय निकायले म्यानमारसँगको सहकार्य र सहयोग बन्द गरेका छन्।
गत बर्ष भएको निर्वाचनमा सुकीको पार्टीले धेरै ठाँउँमा जीत हासिल गरेपछि सेनाले निर्वाचनको परिणामप्रति असन्तुष्टि जनाउदै आएको थियो । निर्वाचनमा धाँधली भएको र निष्पक्ष तथा स्वतन्त्ररूपमा नभएकोले फेरि निर्वाचन गर्न पर्ने सेनाले जनाएको छ।
सेनाको मागलाई पर्यवेक्षक र निर्वाचन आयोगसमेतले अस्वीकार गरेपछि नव गठित संसद्को पहिलो बैठक तोकिएकै दिन सेनाले नेतालाई नियन्त्रणमा लिएर शासन हातमा लिएको हो। एजेन्सी
प्रतिक्रिया