नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले विकासको बैकल्पिक बाटो अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले मुलुकको विकासका लागि पूँजीवाद र पूँजीवादको अनुकरणमा हिँडेका साम्यवादी बाटोले पनि नहुने भएकाले बैकल्पिक बाटो अबलम्बन गर्नुपर्ने बताए। स्वर्गीय विपी कोइरालाले विकास गर्दा सँधै मानिसलाई केन्द्रविन्दुमा राख्नुपर्ने कुरा बताउँदै आएको स्मरण गर्दै उनले विपिले देखाएको बाटोमा हिँड्न आग्रह गरे।
उनले भने, ‘कुनै पनि विकास कुनै पनि समाजवाद कुनैपनि साम्यवाद मनुश्यलाई केन्द्रविन्दुमा राखेर गर्नुपर्छ। मनुश्य साध्य हो। मनुश्य साधन होइन। केही हुँदैन विकास हुुँदैछ। दुईचारवटा मान्छे मरे मरुन्। दुईचार महिला बलात्कृत भए हुन् भन्न पाइँदैन। प्रत्येक मनुश्य साध्य हो। त्यो विपिको मान्यता छ।’
विश्वभरमा नै अहिले विकासको बैकल्पिक बाटोबारे छलफल भईरहेको भन्दै उनले अनाहक ऋणको बोझमा पारेर सिंगापुर र स्वीजरल्याण्डको सपना देखाएर नभई सुशासन कायम गर्दै नेपाललाई नेपाल बनाउने संकल्पमा मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गरे।
उनले भने, ‘विपीले बारम्बार भन्नुभयो विकासको पश्चिमी संस्कृतिको नक्कल गरेर नेपाल विकासको बाटोमा पुग्न सक्दैन। म नेपालका पिएचडीलाई, डाक्टरलाई, बुद्धिजीवीलाई, विद्धानलाई, प्रधानमन्त्रीलाई, राष्ट्रवादीलाई, राष्ट्रपतिलाई यस विषयमा मनन गर्न अनुरोध गर्दछु।’
विपीले सँधै ‘चहराईरहेका घाउमा मल्हम लगाउन, गाउँमा रहेको वेरोजगारी, अर्धवेरोजारी र गुप्त वेरोजारी सम्बोधन गर्न तथा ठुलाठुला हवाई जहाजका कुरा गरेर जनतालाई भ्रमित नबनाउन’ भन्दै आएको उल्लेख गर्दे उनले विकासका बारेमा विपीले देखाएको बैकल्पिक बाटो तर्फ सोच्न सरकारको ध्यानाकर्षण गराए।
प्रतिक्रिया