सत्ताइस वर्षअघि माओवादीले जनयुद्ध सुरु गर्दा उससँग ‘आधुनिक हतियार’ का नाममा दुईवटा थ्रीनटथ्री राइफल थि तर, थोत्रा। दुईमध्ये एउटा राइफल त राम्रोसँग पड्कदापनि पड्कदैँनथ्यो।
जनयुद्धमा संलग्न माओवादीका नेता–कमाण्डरहरुले धेरै लेखका र बोलेकाले जनयुद्धकालमा ‘होलटाइमर राइफल’ नाम दिइएका ती राइफलबारे धेरैलाई जानकारी छ।
तर, धेरैलाई जानकारी नभएको विषय के हो भने, १ फागुन २०५२ मा जनयुद्ध सुरुवात गर्नुभन्दा १ महिनाअघि नै माओवादीसँग विस्फोटनमा प्रयोग हुने डिटोनेटर पर्याप्त थिए। दर्जनौँ वा सयौँको संख्यामा हो र! हजारौँको संख्यामा उसँग डिटोनेटर थिए।
एक हिसावले भन्ने हो भने, जनयुद्धअघि प्राप्त ४२ हजार थान डिटोनेटर माओवादीले जनयुद्धको मध्यकालसम्म प्रयोग गर्न गरिरह्यो।
जनयुद्धअघि नै माओवादीलाई त्यति ठूलो संख्यामा डिटोनेटर दिलाउने व्यक्ति थिए– दोलखाका गंगा कार्की (विश्व), जो आम निर्वाचन (२०७९) को अन्तिम विजेताका रुपमा प्रतिनिधि सभामा निर्वाचित भएका छन्।
१ फागुन २०५२ मा माओवादी जनयुद्ध सुरु हुँदा पार्टीको जिल्ला जिल्ला सेक्रेटरी रहेका कार्कीको अगुवाईमा माओवादीले २ माघ २०५२ मा चरिकोट (दोलखा) स्थित डिभिजन सडक कार्यालयको बंकर हाउसबाट ४० हजार थान डिटोनेटर कब्जा गरेको थियो।
१ फागुन (२०५२) मा जनयुद्ध सुरु गर्ने भएपछि त्यसको तयारीमा रहेको माओवादी नेतृत्वले २०५२ पुषको अन्तिमसाता दोलखाको सडक डिभिजन कार्यालयमा ठूलो संख्यामा रहेको डिटोनेटर कब्जा गर्ने योजना बनाएको थियो। पार्टी केन्द्रले बनाएको योजनालाई आफ्नो कमाण्डमा रहेको टिमद्वारा सफल बनाउन कार्कीले नै भूमिका खेलेका थिए।
२ माघ (२०५२) मा राति २ बजेभित्र सडक विभागको बङकर हाउसभित्र प्रवेश गरी ४२ हजार ७ सय थान डिटोनेटर र ६ क्वायल फ्युज वायर कब्जा गरेपछि कार्की भूमिगत भएका थिए।
यसरी जनयुद्ध सुरु हुनुअगावै ४२ हजार थान डिटोनेटर कब्जा गरेर भूमिगत जीवन सुरु गरेका कार्की १० वर्षे जनयुद्धका क्रममा पार्टीको राजनीतिक र सैनिक दुवै क्षेत्रमा रहेर काम गरे। शान्ति प्रक्रिया सुरु हुनुअघिसम्म उनी माओवादी जनसेनाको बेथान स्मृति ब्रिगेडका राजनीतिक कमिसार थिए।
माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य चुनिएका उनी अहिले माओवादी केन्द्रको पोलिटब्यूरो ्सदस्य र उद्योग व्यापार विभाग इन्चार्ज छन्।
जनयुद्धसम्बन्धी संस्मरणात्मक पुस्तक ‘दुसाध्य जनयुद्ध’ जनयुद्धका लेखक कार्कीका लागि संसदको यात्रा दुसाध्य नै रह्यो। दोलखामा माओवादीका सबैभन्दा बरिष्ठ नेता रहेपनि शान्ति प्रक्रियामा आएपछिका १५ वर्षमा उनले कुनै उल्लेख्य जिम्मेवारी पाएनन्। २०६४, २०७० र २०७४ का तीनवटै निर्वाचनमा उनी टिकटबाट बञ्चित भए।
२०७४ को निर्वाचनमा एमाले उम्मेदवार पार्वत गुरुङले सर्वाधिक मतान्तरको रेकर्ड बनाएको दोलखामा यसपटक माओवादी केन्द्रले उनलाई सत्तागठबन्धनको उम्मेदवार त बनायो। तर, जीतको परिणाम दिन ‘दुसाध्य’ नै थियो।
किनकी ‘जलबल’ का हिसावले एमालेको मजबुत किल्ला मानिने दोलखाबाट एमालेले निर्माण व्यवसायमा संल्गन बालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाएको थियो। एकातिर एमालेको बलियो किल्ला, अर्कोतिर ‘धनबल’ का हिसावले मजबुत एमाले उम्मेदवार शिवाकोटी– यस्तोमा कार्कीले विजय हासिल गर्लान् भन्ने विश्वास कमैमा थियो।
टिकट पाउनासाथ आफ्नै पार्टी र पारिवारिक सदस्यबाट भएको ‘विद्रोह’ का कारण पनि कार्कीले विजय हासिल गर्लान् भन्ने विश्वास माओवादी पंक्तिमा मर्दै गएको थियो। भिनाजु कार्कीले प्रतिनिधि सभाको टिकट पाएपछि माओवादी केन्द्र दोलखाकी इन्चार्ज देवी खड्काले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी थिइन्।
२०६४ को संविधान सभा निर्वाचनकी विजेता एवं पूर्व राज्यमन्त्री खड्काको राजीनामाका कारण उनी पक्षीय केही कार्यकर्ता निर्वाचनमा निस्क्रिय बसे भने कोही कार्कीको विरुद्धमा चुनाव प्रचार अभियानमा सक्रिय भए।
पारिवारिक सदस्य समेत रहेकी जिल्लाकी प्रमुख पार्टी नेतृ नै चुनावका बेला राजीनामा दिएर निस्किृय भएपछि त्यसको असर चुनाव अभियानमा पर्यो। एमालेले आर्थिक दृष्टिले मजबुत व्यक्तिलाई उम्मेदवार बनाएपछि उनीमाथिको चुनौति अरु थपियो।
१६ मंसिरमा मतगणना प्रारम्भ भएपछिको दुईदिनसम्म लगातार अग्रता हासिल गरेका कार्कीको स्थिति गणनाको तेस्रो दिन नाजुक देखिन थाल्यो। आइतबार (१७ मंसिर) विहानसम्म झण्डै १ हजार ५ सय मतान्तरले अघि रहेका उनी अपरान्हतिर २ हजार मतान्तरले पछि परे। रात छिप्पिँदै जाँदा २ हजार ७ सय मतान्तरका साथ अग्रता हासिल गरेका उनी सोमबार विहानसम्म यो मतान्तर गुमाएर एमालेका शिवाकोटी भन्दा पछि परे।
मतगणनाको अन्तिम चरणमा पछि परेपछि र गणना बाँकी रहेका जिल्लाका एकाध वडामा एमालेको पडक रहेकाले उनको विजयमाथि शंका थपिदै थियो। तरपनि उनी अन्तिम गणनामा ३ सय १८ मतान्तरले विजयी भए।
‘दोलखाको लागि मैले जे योगदान गरेको छु, त्यसको उचित मूल्याङ्कन हुनेछ र विजय प्राप्त गर्नेछु भन्नेमा म ढुक्क थिएँ, त्यो विश्वास आज सफल भएको छ’ विजय प्राप्त गरेपछि उनले भनेका छन्, ‘उतारचढाव त हुने भइहाल्यो। सुरुदेखि नै तलमाथि–तलमाथि हुँदै गयो। चुनावपनि रोचकै भयो, मतगणनापनि रोचकै भयो र विजय पनि रोचकै भयो।’
आफ्ना प्रतिद्वन्द्वी आर्थिक हिसावले निकै सम्पन्न भएपनि जनबलका कारण आफू विजयी भएको बताउनपनि उनी चुकेनन्।
‘जनताको मन जित्ने कुरा ठूलो हो, अरु सबै कुरा वाहियात हुन्। चाहे धनसम्पत्ति सगरमाथाजस्तै ठूलो (अग्लो) भएपनि जनताको मन जित्यो भने माटाको बुकुरोले पनि हिमालमाथि विजय हासिल गर्दो रहेछ भन्ने कुरासावित भएको छ’ उनले थपे, ‘पैसा, जालझेल र अरु षडयन्त्रले चल्दो रहेनछ भन्ने कुरा यो चुनावबाट पुष्टि भएको छ।’
Shares
प्रतिक्रिया