ad ad

राजनीति


३० दिनपछि गठबन्धनकै सरकार बन्छ, उपसभामुखको उपचार भइसक्ला : भूपेन्द्र राई

३० दिनपछि गठबन्धनकै सरकार बन्छ, उपसभामुखको उपचार भइसक्ला : भूपेन्द्र राई

नेपालखबर
भदौ २१, २०८० बिहिबार २१:५८, काठमाडौँ

नेपाली कांग्रेस कोशीका प्रमुख सचेतक भूपेन्द्र राईले ३० दिनपछि फेरि गठबन्धनकै सरकार बन्ने बताएका छन्। सर्वोच्च अदालतको परमादेशपछि एमाले संसदीय दलका नेता हिक्मत कार्की ४८ घण्टाभित्रमा मुख्यमन्त्री नियुक्त हुने भएपनि उनले विश्वासको मत नपाउने राईले बताए। 

सर्वोच्च्को आदेशपछि बिहीबार साँझ नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘अब ४८ घण्टा भित्रमा धारा ३ अनुसार नेकपा एमालेको नेतृत्वमा सरकार बन्छ। त्यसको ३० दिनपछि फेरि यस्तै हुन्छ। उहाँहरुले विश्वासको मत लिँदा ४५ मत पाउनुहुन्छ। विपक्षमा ४७ मत हुन्छ। त्यो अवस्थामा यो सरकार रहँदैन र धारा ५ अनुसार हामी नै सरकार बनाउँछौं।’

हिक्मत कार्कीले विश्वासको मत लिँदा उपसभामुख सिर्जना दनुवार नभाग्ने र एमालेका जेष्ठ सदस्य पनि नभगाउला भन्दै कांग्रेसले भने आफ्ना सबै सांसदलाई उपस्थित गराउने राईले बताए। 

‘आफ्नो दलको नेताले विश्वासको मत लिँदा त उपसभामुख नभाग्ने होला। हामी जेष्ठ सदस्य भगाउँदैनौं, उहाँहरुको पनि भाग्नुहुन्न होला। त्यसो भयो भने उहाँहरुले ४५ मत ल्याउनुहुन्छ, हामी विपक्षमा ४७ मत दिन्छौं’, राईले भने। 

त्यसपछि धारा ५ मा जाने र गठबन्धनले सरकार बनाउने उनले बताए। 

अहिले एमालेले विश्वासको मत मागे पनि सर्वदलीय सरकारको सम्भावना नरहेको राईको प्रतिक्रिया छ। प्रमुख सचेतक राईले भने, ‘एमालेले चाहे राजनीतिक संवाद गर्न सकिन्छ। धारा ५ मा पुगिसकेपछि सर्वदलीय सरकार बन्न पनि सक्छ तर अहिले नै सर्वदलीय सरकारको सम्भावना छैन।’

धारा ५ अनुसार अहिलेकै गठबन्धनका मुख्यमन्त्रीले कसरी विश्वासको मत लिने भन्ने प्रश्नमा उनले भने, ‘फेरि पनि विश्वासको मत लिने बेलामा उपसभामुख बिरामी हुनुहुन्न होला। हामी त्यो भन्दा अगाडी नै उपसभामुखलाई स्वास्थ्य उपचारमा गइदिनुहोला विश्वासको मत लिने बेला भो भनेर अनुरोध गर्छौं।’

बहुदलीय व्यवस्थामा बहुमतलाई अल्पमतले शासन गर्न नसक्ने र ४७ सांसदको हस्ताक्षरसहित बहुमतको सरकार बनाए पनि विश्वासको मत लिँदा केही त्रुटि भएको फैसलालेले देखाएको उनको भनाई छ। 

तर आदेशको पूर्णपाठ आउन बाँकी रहेकाले उपसभामुख र अनुपस्थित जेष्ठ सदस्यको बारेमा फैसलामा पनि केही बोल्ने विश्वास राईको छ।

न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले बिहीबार सुनुवाइ सक्दै कार्कीलाई मुख्यमन्त्री बनाउन परमादेश जारी गरेको हो।

कोशीका मुख्यमन्त्री थापाले सभाध्यक्ष भूमिका निर्वाह गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीसहितको मतबाट बहुमत पु¥याएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। 

जसमा कोशीका मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख परशुराम खापुङलाई विपक्षी बनाइएको थियो।

गत भदौ ४ गते थापाले प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। 

विश्वासको मत लिँदा संविधानको उल्लंघन भएको भन्दै एमाले दोस्रोपटक सर्वोच्च पुगेको हो। 

सर्वोच्चको आदेशसँगै पहिलोपटक कोशीको मुख्यमन्त्री बनेको २२ दिनपछि पदमुक्त भएका थापा पुनः अर्कोपटक पदमुक्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .