खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी ७१ वर्षीया कमला श्रेष्ठले २५ लाख मूल्य बराबरको जग्गा वडा कार्यालयलाई निःशुल्क प्रदान गरेकी छन्।
उनले पाँच रोपनी जग्गा वडा कार्यालयलाई निःशुल्क दिएकी हुन्।
जेठा छोरा प्रतापसँगै दिक्तेल आएकी कमलाले जिल्ला मालपोत कार्यालयमा गएर आफ्नो नाममा रहेको जग्गा वडा कार्यालयको नाममा निःशुल्क प्रदान गरेको वडासचिव चित्रकुमार सुवेदीले जानकारी दिए।
जग्गादाता कमलाले खार्मीस्थित स्कूलडाँडामा रहेको आफ्नो नामको जग्गाधनीपूर्जा वडा कार्यालयको नाममा नामसारी गरेर वडाध्यक्ष रामचन्द्र राईलाई प्रदान गरिन्।
जग्गा अभावमा वडा कार्यालय भवन निर्माण गर्न कठिनाइ भएको थियो। श्रेष्ठ परिवारलाई नयाँ भवन निर्माण गर्न निःशुल्क जग्गा दिन अनुरोध गरिएको वडाध्यक्ष राईले बताए।
निःशुल्क जग्गा प्राप्त भएसँगै भवन निर्माणका लागि नगरपालिकालाई अनुरोध गरिने वडा कार्यालयले जनाएको छ। चालु आवदेखि वडाको आफ्नै कार्यालय भवन निर्माणको काम शुरु गरिने नगरप्रमुख दीपनारायण रिजालले बताए।
भवन निर्माण गर्न प्रदेशबाट प्राप्त हुने समपूरक कोष र नगरपालिकाको ५०/५० प्रतिशत लगानी रहनेछ। पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अधिकांश वडा कार्यालय भाडाको घरमा सञ्चालनमा छन्।
प्रतिक्रिया