राहदानी विभागले राहदानी वितरण कार्य तत्कालका लागि स्थगित गरेको जनाएको छ।
यही पुस १७ गतेदेखि राहदानी विभागको ‘सिस्टम’मा समस्या आइ राहदानी छपाई तथा वितरण कार्य अवरुद्ध हुन गएको’ विभागले जनाएको छ।
विभागले मंगलबार सूचना प्रकाशित गरी ‘सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकहरूले आफ्नो मोबाइलमा एसएमएस÷म्यासेज आएपछि मात्र विभागमा आउन’ अनुरोध गरेको छ।
सचिवहरुलाई प्रधानमन्त्रीले भने : राहदानी र लाइसेन्समा अहिले जस्तै लाइन देखिए कारबाही गर्छु
साथै, नियमित रूपमा राहदानी आवेदनका लागि एपोइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीहरू बुक गरेको मिति र समयमा बायोमेट्रिकको लागि विभागमा उपस्थित भइदिन पनि विभागले सूचित गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मात्रै सचिवहरुलाई निर्देशन दिँदै संघीताको अभ्याससँगै घरदैलोमा नै सेवा पुग्ने जनअपेक्षा पुरा हुन नसकेको बताएका थिए।
उनले राहदानी, राष्ट्रिय परिचय पत्र र सवारी चालक अनुमति पत्रका लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको भन्दै अब दोहोरिए कारबाही चेतावनी दिएका थिए।
'अहिले तपाईं हामी यो बैठक गरिरहँदा राहदानी लिन बिहान २ बजेदेखि लाइनमा बसेको समाचार प्रकाशित भएको छ। राष्ट्रिय परिचय पत्र लिने सास्ती उत्तिकै छ', उनले भने, 'त्यो परिचयपत्र किन आवश्यक भएको हो भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर हामीसँग छैन।'
उनले अहिलेकै गतिमा बाँडिरहे सबैलाई दिँदासम्म दशकौँ समय लाग्ने बताए। 'अहिलेकै गतिमा राष्ट्रिय परिचयपत्रको काम हुने हो भने तीन करोड नेपालीको हातमा परिचयपत्र पुग्न दशकौँ लाग्छ', उनले भने, 'सवारी चालक अनुमति पत्र लिन पनि वर्षौँ कुर्नुपर्ने अवस्था छ। यसतर्फ तत्काल ध्यान दिनुपर्यो।'
Shares
प्रतिक्रिया