न्याय माग्दै काठमाडौँ आएको मिटरब्याजी पीडितको दोस्रो टोलीलाई पनि सरकारले वार्तामा बोलाएको छ।
यसअघि महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आएको मिटरब्याज पीडितको पहिलो टोलीसँग पाँचबुँदे सहमति गरेको सरकारले सोही पीडामा रहेकाहरूको अर्काे टोलीलाई पनि वार्तामा आउन अनुरोध गरेको हो।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नेतृत्वमा काठमाडौँ आई अधिकारका लागि संघर्षरत पीडितहरूलाई सरकारले आज वार्ताका लागि सूचना गरेको हो।
तर त्यसअघि एउटा साझा धारणा बनाउन र वार्तामा जाने वा नजाने निर्णय गर्न अहिले आफूहरू कानुनविद्हरूसँग परामर्शमा रहेको समितिका प्रवक्ता निर्ग नवीनले नेपालखबरलाई जानकारी दिए।
‘सरकारका तर्फबाट हामीसँग वार्ताका लागि वार्ता टोली बनिसकेको सूचना प्राप्त भएको छ’, उनले भने, ‘तर हामी एउटा धारणा बनाएर मात्र वार्तामा जाने वा नजाने भन्ने टुंगोगमा पुग्न छलफल गरिरहेका छौँ।’
अहिले आफूहरू कानुनविद्हरू ओम अर्याल, रत्नशंकर श्रेष्ठ तथा गोविन्द बन्दीसँग छलफलमा रहेको उनले जानकारी दिए।
संघर्ष समितिका प्रवक्ता नवीनका अनुसार मिटरब्याजीविरुद्धको आन्दोलनमा तराईका आठैवटा जिल्लासहित २४ जिल्लाका पीडित सहभागी छन्।
Shares
प्रतिक्रिया