संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले तारागाउँ विकास समितिलाई २२ बुँदे प्रश्न गरेका छन्।
उनले बौद्धस्थित होटल हायातलाई पनि २७ बुँदे प्रश्न गरेका छन्।
'होटल हयातलाई २७ र तारा गाउँ समितिलाई २२ प्रश्न', उनले भनेका छन्, 'तपसिलका कारणले होटल हयातसँग सम्झौता किन नतोड्ने? तारा गाउँ विकास समितिलाई किन विघटन नगर्ने? तिन दिनभित्र जवाफ पेस गर्ने।'
मन्त्री किरातीले तारा गाउँ रिजेन्सी होटल लिमिटेडको निर्माणको परियजना योजनावद्ध बढाइएको बताएका छन्।
'तारा गाउँ रिजेन्सी होटल लिमिटेड निर्माणको परियोजना लागत योजनाबद्ध तरिकाले बढाइएको देखिन्छ। तारा गाउँ विकास समिति र सर्राफ आइसिटिसी समूहबीचमा लागत १ अर्ब ५० करोड हुने सहमति भए पनि दोब्बर बढी ३ अरब ४३ करोड खर्च गरिएको देखिन्छ', मन्त्रीले सोधेका छन्, 'यसरी संयुक्त लगानी सम्झौता र समझदारी पत्रविपरीत होटल परियोजना लागत अत्याधिक मात्रामा बृद्धि गर्नाको कारण के हो? घाटामा गएको बेला पनि कम्पनीले सञ्चालक तथा उच्च व्यवस्थापकलाई ३८ करोड १२ लाख रुपैयाँसम्म भुक्तानी गरेको देखियो। भारी नोक्सानीमा सञ्चालनमा रहेको अवस्थामा कम्पनीबाट अस्वभाविक रुपमा ठूलो धनराशी पारिश्रमिकको रुपमा भुक्तानी लिनुको कारण के हो?'
मन्त्रालयले खर्च पुष्टि गर्ने बिल बिजक तथा कागजात समेत पेश नगरी ठूलो खर्च लेखांकन गरेकोमा पनि प्रश्न उठाएका छन्। 'कम्पनीले व्यवसायसँग असम्बन्धित खर्चलाई पुष्टि गर्ने बिल बीजक तथा कागजात समेत पेश नगरी ठूलो रकम खर्च लेखाङ्कन गरेको देखिन्छ। यसबाट नोक्सानी भई लगानीकर्ता प्रतिफल शून्य हुन पुगे', उनले भनेका छन्, 'अप्रमाणिक तथा पुष्टि हुन नसक्ने खर्च लेखाङ्कन गर्नाको कारण के हो ? यस्तो अप्रमाणिक तथा पुष्टि हुन नसक्ने खर्च सम्बन्धित पदाधिकारीबाट असुलउपर गर्नु नपर्नाको कारण के हो?'
त्यसैगरी कम्पनीले विभिन्न आर्थिक वर्षमा विभिन्न शीर्षकमा प्राप्त गरेको आम्दानी बापतको रकम आम्दानी लेखाङ्कन गरेको नदेखिएको जनाउँदै मन्त्री किरातीले यस्ता आम्दानी नबाँधिएका आम्दानीहरु के कति रहेका छन? भनेर सोधेका छन्।
यस्ता आम्दानीहरु सम्बन्धितबाट असुलउपर नगर्नुपर्ने कारण के हो? भनेर उनले प्रश्न गरेका छन्।
'कम्पनीले विभिन्न आर्थिक वर्षमा तेस्रो पक्षलाई भुक्तानी गर्दा स्रोतमा कर कट्टी नगरी भुक्तानी गरेको र भुक्तानी प्राप्त गर्ने तेस्रो पक्षले तिर्नुपर्ने उक्त अग्रीम करकट्टी बापतको खर्च ३ करोड २४ लाख रकम के कति कारणबाट खर्च लेखाङ्कन गरेको हो?', अगाडि सोधिएको छ, 'उक्त अग्रीम कर कट्टी बापतको रकम सम्बन्धित पदाधिकारीबाट असुल उपर गर्नु पर्छ वा पर्दैन?'
Shares
प्रतिक्रिया