ad ad

समाज


मिटरब्याजी पक्राउ परे, अब १३ सय पीडितको पैसा फिर्ता हुन्छः कमल बुढाथोकी (अन्तर्वार्ता)

मिटरब्याजी पक्राउ परे, अब १३ सय पीडितको पैसा फिर्ता हुन्छः कमल बुढाथोकी (अन्तर्वार्ता)

सागर न्यौपाने
पुस २३, २०७६ बुधबार १२:४८,

सर्लाहीमा सिधासाधा जनतालाई त्यहाँका साहु महाजनहरुले चर्को व्याजदरमा ऋण दिने, जग्गा पहिले नै रजिष्ट्रेशन पास गराउने र उनीहरुलाई ऋणको चंगुलमा पार्ने एकपछि अर्को मुद्दाहरु सार्वजनिक भइरहेका छन्। त्यसैगरि रामबाबु राय यादव र सञ्जय रौनियारले पनि धेरै स्थानीयको बिल्लीबाँठ बनाएको आरोप लगाइएको छ। उनीहरुमाथि कानुनी कारवाहीको माग राखेर ४० जना पीडित काठमाडौं आएका छन्। नेकपाका सर्लाहीका नेता कमल बुढाथोकीले उनीहरुलाई काठमाडौंमा पार्टी नेताहरुसँग भेट गराएका छन्। बुढाथोकीले पीडितहरुको समूहलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि अन्य नेताहरु, महान्यायधिवक्ता अग्नीप्रसाद खरेल, प्रहरी महानिरिक्षक (आइजीपी) सर्वेन्द्र खनाल लगायतसँग भेट गराएका छन्। त्यसपछि रामबाबु राय यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। बुढाथोकीसँग गरिएको कुराकानीको सम्पादित अंशः

काठमाडौं नै किन आउनुपर्यो?
हामीले भदौ ९ गते जनताको करोडौं रकम ठगी गर्ने श्याम परदेशीलाई जेल हाल्न सफल भएपछि ‘परदेशी भन्दा बढी ठगी गर्ने व्यक्ति पनि छन्,’ भनेर पीडितहरु हाम्रो सम्पर्कमा आए। दशैँको नवमीको दिन नारायणकाजी श्रेष्ठ सर्लाही जानुभएको थियो। मेरै घरमा बस्नुभएको थियो। त्यो बेला मैले रामबाबु राय यादव र सञ्जय रौनियारबाट पीडित केही व्यक्तिहरुको भेट श्रेष्ठसँग गराइदिएँ। मुर्तिया, बरहथवा नगरपालिका १० का महाजन यादव को ३ अर्ब भन्दा बढीको कारोबार छ भन्ने अनुमान छ। अर्का सञ्जय साह रौनियार ७-८ अर्बभन्दा बढीको कारोवार गरेर जनता ठगी गर्ने व्यक्ति हुन्।

Kamal budathoki 2

त्यो सबै रकम जनतालाई ठगी नै गरिएको हो?
हो। त्यो सबै रकम जनतालाई चर्काे व्याजमा लगाएर, ऋण दिँदा घरजग्गाकै रजिष्ट्रेशन नै पास गरेर असुलिएको हो। त्यस्ता पीडित १२-१३ सय छन्। नत्र उनीहरुको आम्दानीको स्रोत के हो त? उनीहरुले जनताको जग्गा रजिष्ट्रेसन पास गराउने अनि जति पैसा दिएको त्यसको तेब्बर तमसुक पनि गराउने गर्दा रहेछन्। व्याज पनि असुल्ने अनि जनताले सबै रकम चुक्ता गरेपनि तमसुक नदिने, ढाट्ने गरेको पीडितहरुले बताएका छन्। जग्गा पनि फिर्ता नगरी उसैले बेच्ने लगायतका समस्या हामीकहाँ आएपछि हामीले नारायणकाजीसामु राख्यौं। नारायणकाजीले यो समस्यालाई उच्चस्तरमैं लैजानुपर्छ भन्नुभयो। हामी धेरै ताकेता गर्यौं। यो बीचमा चारपटक काठमाडौं आयौं। १६ गते अध्यक्ष प्रचण्डसँग सिन्धुलीमा भेट भयो अनि पीडित ४० जनालाई लिएरै हामी २१ गते फेरि आयौं। हिजो (मंगलबार) प्रचण्डनिवास खुमलटारमा हामीले प्रचण्ड, माधव नेपाल र नारायणकाजीको उपस्थितिमैं पीडितसहित छलफल गरियो। पीडितहरुले उहाँहरुसँग सबै कुरा बताएपछि प्रशासनमा उहाँहरुले कुरा गरिदिनुभयो। अहिले हामीले कानुनी रुपमा यसको दीर्घकालिन समाधान गर्नेगरी छलफल गरेका छौं। छिट्टै निष्कर्षमा पुग्छ होला।

यस्ता समस्या सर्लाहीमा किन धेरै?
ठुला ठगी गर्ने यी दुईजना हुन्। अन्य त थुप्रै छन् नी। श्याम परदेशी विरोधी आन्दोलन चलेपछि केहीलाई हामीले पनि फोनबाटै गलत धन्दा बन्द गर्न, नाजायज तरिकाले बनाइएका आसामीहरुको विषय मिलाउन सुझाव दिएका थियौं। कतिले मिलाई सके। यहाँ बरहथवाको एउटा केस आइरहेको छ। १ लाख रुपैयाँ दिने र दिनको २ हजारका दरले व्याज लिने। यो त मिटरे होइन, किलोमिटर व्याजजस्तो भयो। अनि यसरी देशमा गणतन्त्र आयो, संघीयता आयो, गाउँ गाउँमा सिंहदरबार गयो भनिरहेको बेला राणाकालीन समयको भन्दा पनि जर्जर सामन्तवादको उपस्थिति देखेर जनता पीडित भएको हामीले पायौं।

यसमा नीतिगत सुधार आवश्यक हो उसो भए?
एकदम आवश्यक छ। सर्लाहीमा मात्रै होइन, यो समग्र मधेसमा छ। पहाडतिर मालपोतमा दृष्टिबन्धक गर्ने र पैसा फिर्ता गरेपछि त्यो बन्धक पनि फिर्ता गर्ने चलन छ। तर, मधेसको समस्या कस्तो देखियो भने दृष्टिबन्धक होइन, रजिष्ट्रेशन पास गरेर लिने अनि दिएको पैसाको तेब्बर पनि कागज गरेर लिने। यो नियत नै खराब छ। कानुनी सुधारको कुरा त राज्यले गरेको छ। २०७४ को भदौ १ गतेबाट ५० हजारभन्दा बढी कारोबार गर्दा वडाअध्यक्ष वा कार्यालयको रोहबरमा गर्नुपर्छ भनेर राज्यले नीति त ल्यायो। तर, यी समस्या २०७४ भन्दा अगाडिका भए। हिजो कानुनी अबस्था के थियो भने, कपाली तमसुक बनेको १० वर्षसम्म त्यसको म्याद हुने। उनीहरुले ०७४ अगाडिका कागजहरुले जनता ठगी गर्ने काम गरिरहेका छन्। राज्यले नीतिगत सुधार गर्दैछ। तर जनताको चेतनास्तर पनि कस्तो देखियो भने जुनसुकै सर्तमा पनि पैसा लिने। बैंकबाट कारोवार नगर्ने। जतिसक्दो छिटो पैसा लिने छोराछोरीको विहे गर्ने। त्यो महंगो पैसा लिएर फाइदा हुँदैन भन्ने छैन। खाली भावनाका आधारमा साहुसँग पैसा लिने, अनि साहुले जति भन्छ त्यति तमसुकमा सही गर्ने। जग्गाको रजिष्ट्रेसन पनि पास गरेको कारण समस्या आएको हो। 

यसलाई तपाईहरु अभियानकै रुपमा अन्य जिल्ला पनि लैजाने कि सर्लाही मै सीमित हुने त?
सर्लाहीमा भएका कारवाहिका कारणले अन्य जिल्लामा अभियानको रुप लिँदैछ। अहिले कैलाली, नवलपरासी, रुपन्देही र सिरहामा पनि यस्तो आवाज उठेको छ। त्यहाँ पनि प्रशासनले यसरी जनतालाई दुख दिने काम बेठीक भएको भन्दै हेरेको छ। स्थानीय जनतामा पनि चेतना आउन थालेको छ।

अर्वाै जनताको पैसा ठगी गरेको आरोप लागेका व्यक्तिहरुले राजनीतिक आवरणमै त्यस्तो काम गरेका हुन्?
रामबाबु राय यादव भन्ने व्यक्ति २०४९ सालमा नेपाली कांग्रेसबाट जिल्ला विकास समितिको सदस्य भएका थिए। पछि मधेस आन्दोलनताका तमलोपा भएर २०७० मा सर्लाही ३ बाट संविधानसभाको चुनाव लडे। २०७४ मा राजपा बनेपछि बरथवाको मेयरमा पनि उठेका हुन्। यो धन्दा टिकाउन राजनीतिक आवरण दिन लागेको जस्तो देखिन्छ। यहाँ राजपाको पनि, नेकपाको, कांग्रेसकै कार्यकर्ता पनि पीडित छन्। यिनिहरुबाट मुलतः समाजवादी र राजपाकै बढी मतदाता पीडित छन्।

Kamal budathoki 1

पीडितको संख्या कति होला?
१३ सयजति होलान। जस्तो रामबाबु राय यादवबाट पीडित ५ सय भन्दा कम छैनन र सञ्जय शाह रौनियारबाट ८ सयभन्दा बढी पीडित छन्। कतिपय बाहिर देखिएका छैनन। जग्गा नपाइला भनेर थुप्रै नखुलेको सूचना पाएका छौं। काठमाडौंमै हामीसँग ४० जना आएका छन्। अब बरहथवा, मलगंवा र इश्वरपुरमा तिनीहरु विरुद्ध जुलुश हुन्छन्। अब पीडित धेरै बाहिर आउनेछन्।

यो विषय उठाउँदा उनीहरुलाई कुनै धम्की दिएका छन् कि छैनन् ?
रामबाबुबाट पीडित राजु कुशवाह भन्ने एकजना हुनुहुन्छ। उहाँले ९ लाख लिएर १९ लाख तिरिसक्नुभयो। उहाँले रजिष्ट्रेसन पास गरेर दिएको ६ कठ्ठा जग्गा पनि उसले अर्कैको नाममा पास गरेर दिइसक्यो। उसको भाईको पसलमा गएर दाजुलाई ठीक ठाउँमा बस भन्, नभए मेराविरुद्ध लाग्छ भने जे पनि हुनसक्छ म वाँकी राख्दिन भनेर रामबाबुले धम्की दिएको सूचना पाएका छौं। सञ्जयले केही गुण्डाहरु नै प्रयोग गरेको भनेर पीडितहरुले बताएका छन्।

पहिले तपाईहरुले तमसुक च्यात्ने भन्ने अभियान गर्नुहुन्थ्यो, अब फेरि त्यस्तै गर्न लाग्नुभएको हो तपाईहरु?
होइन तमसुक च्यात्ने होइन। पञ्चायतकालमा चाहिँ त्यो थियो, अहिले तमसुक च्यात्ने होइन। अहिले त त्यसलाई नियमन गर्ने हो। राज्यले कानुनी दायरामा ल्याएर यिनलाई नियमन गर्ने र कारवाही गर्नुपर्छ। अकुत सम्पती कमाउने, राज्यलाई कर नतिर्ने, अनि सर्वसाधारणबाट झुक्याएर अर्वाै सम्पत्ती कमाउने। यस्तो पनी हुन्छ?

तपाईहरु सबै ठाउँमा पुग्नुभयो, समस्या समाधान होला त?
उहाँहरु (नेताहरु) ले ‘यो त फिल्ममा देखेको दृश्यजस्तो भयो, कथा सुनेको जस्तो, गणतन्त्रमा पनि यस्तो हुन्छ? यो त ठूलो अन्याय, अत्याचार र शोषण रहेछ। यो त सामन्तवादको अवशेष रहेछ, हामी पीडितलाई न्याय दिन्छौं’ भन्नुभएको छ। नेताहरुले गर्नुपर्ने काम गर्नुभयो, त्यहि आधारमा रामबाबु राय यादव पक्राउ परेका हुन्।

अब कति दिनमा ती पीडितले न्याय पाउलान?
प्रक्रिया अघि बढ्यो। रामबाबु पक्राउ परिसके। सञ्जय पनि पक्राउ पर्छन। अब रकम फिर्ता गराउने हाम्रो जोड हो। त्यो पनि केही दिन भित्रैमा देखिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .