पानी पर्न कम भएसँगै देशभर तापक्रम बढ्ने क्रममा रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार मौसम बदली (आकाशमा बादल) र वर्षा कम हुनासाथ तापक्रम उकालो लागेको हो।
‘खासगरी तराई भेगमा गर्मी बढ्ने सम्भावना छ’, उनले भने, ‘किनभने आगामी ३ दिनसम्म त्यता वर्षाको सम्भावना देखिएको छैन।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भेगका केही स्थानमा भने वर्षाको सम्भावना छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ– ‘दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।’
मौसमविद् अधिकारीका अनुसार एक–दुई ठाउँमा वर्षाको सम्भावना देखिनु पानी पर्ने सम्भावना कम हुनु हो भने थोरै स्थानमा वर्षाको सम्भावना देखिनु सम्भावना अलि बढी हुनु हो।
‘पानी परेका ठाउँमा स्वाभाविक रूपमा अधिकतम तापक्रम केही कम हुने भए पनि बदली र वर्षा नभएका ठाउँमा तापक्रम बढ्छ नै’, उनले भने।
महाशाखाको बुलेटिनअनुसार आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।’
मौसमविद् अधिकारीका अनुसार अहिले पानी पार्ने कुनै नयाँ प्रणाली नभित्रिएको तथा पश्चिमी वायु सक्रिय नभएकाले स्थानीय वायुले एकैछिनमा बदली गराउने र क्षणिक वर्षा गराउने सम्भावना हुन्छ।
आज काठमाडौँ उपत्यकामा मौसम आंशिक बदली (आकाशमा थोरै बादल) रहने र अपराह्नपछि पानी पर्ने थोरै सम्भावना पनि रहेको उनले बताए।
Shares
प्रतिक्रिया