ad ad

समाज


रेस्टुरेन्टमा खाँदा ध्यान दिनैपर्ने कुरा, नत्र बिग्रिन्छ स्वास्थ्य

रेस्टुरेन्टमा खाँदा ध्यान दिनैपर्ने कुरा, नत्र बिग्रिन्छ स्वास्थ्य

डा. अरुणा उप्रेती


डा. अरुणा उप्रेती
जेठ १, २०८० सोमबार ९:५४, काठमाडौँ

अन्य देशमा होटल वा रेस्टुरेन्टमा गएर खाना खाने प्रचलन परापूर्वकालदेखि नै छ। अहिले नेपालमा पनि यो प्रचलन बढ्दै गइरहेको छ।

हाम्रो देशको सन्दर्भमा कुरा गर्दा पहिले–पहिले होटलमा खाना गाडीमा यात्रा गर्दा मात्र खाइन्थ्यो। तर अहिले बिहेभोज, पास्नी, जन्मदिनजस्ता शुभकार्य पनि होटलमै मनाउन थालिएको छ। 

महिनामा एक/दुईपटक होटलमा खाना/खाजा खाँदा स्वास्थ्यमा खासै असर नपरे पनि सधैँजसो खानु भने स्वास्थ्यका लागि राम्रो मानिँदैन। 

हामी होटलमा जाँदा त्यहाँका खानेकुरा स्वास्थ्यका लागि योग्य छन् वा छैनन्? कति  गुणस्तरीय छन्? केही नहेरी सीधै मेनु हेरेर भटाभट अर्डर गर्छौं। खानेकुरा कसरी पकाइएको छ? कतिको खान योग्य छ? केही नहेरी मुखको स्वादका लागि मीठो मानेर खाइरहेका हुन्छौँ। 

होटलमा खाना खाँदा के के कुरामा ध्यान दिने? 
मानव शरीरका लागि खाना अनिवार्य छ। जीवन चलाउन स्वस्थकर खाना खानैपर्छ। 

हामीले सकेसम्म घरकै अर्गानिक खानेकुरा खानुपर्छ। त्यो सम्भव छैन र बाहिरका खानेकुरा खानैपर्ने बाध्यता छ भने केही कुरामा ख्याल गर्नुपर्छ। 

होटलमा खाना खाँदा सुरुमा त कस्तो होटलमा खाना खादै छौँ? कतिको स्वस्थकर खानेकुरा पकाइन्छ? होटलमा कस्तो खालका खाद्ययवस्तु र तेल प्रयोग गरिन्छ? सरसफाइमा कतिको ध्यान दिइन्छ? यस्ता धेरै कुरामा ध्यान दिनुपर्छ। 

धेरैजसो होटलमा बारम्बार प्रयोग गरिएको तेलमा नै  खानेकुरा पकाइरहेको मैले देख्छु। जसले मुटुमा निकै असर पुर्‍ याउँछ। 

बारम्बार एउटै तेलमा पकाइएको खानेकुराले स्वादमा फरकपन त ल्याउँदैन तर त्यसले मुटुको रोग र क्यान्सर निम्त्याउने अध्ययनले देखाइसकेको छ। 

धेरै भुटेको चिल्लो समोसा, पुरी, मिठाई, पिज्जा, बर्गर, मोमोजस्ता खानेकुरा खानु हुँदैन। यी खानेकुराले धेरैवटा दीर्घरोग बनाइहरेको छ। 

यति भनिरहँदा होटलमा स्वस्थकर खाना नै पाउँदैन भन्ने होइन। जिब्रोको स्वादलाई मारेर स्वस्थकर खानेकुराहरू सलाद, अन्डा, चना, उसिनेको आलु वा तातो खानेकुरा दाल, सुप खान सक्छौँ। 

धेरैले होटलमा गएर पनि घरकै जस्तो कहाँ खानु भनेर निकै अवस्थकर खानेकुरा खाइरहेको देख्छु। त्यसले मोटोपना र अन्य थुप्रै रोग निम्ताइरहेको छ। 

होटलमा लामो समयसम्म खानेकुरा नबिग्रियोस् भनेर विभिन्न थरीका केमिकल मिसाएर राखिएको हुन्छ। त्यस्तै नुन र चिनीको मात्रा पनि उत्तिकै हुन्छ। 

खास गरेर गर्मी मौसममा होटलमा खाना खाएर एकैपटक धेरै बिरामी भए भन्ने समाचार आउँछन्। त्यो भनेको त्यही सञ्चित गरेर राखिएका खानेकुराको परिणाम हो। जसमा विषादी उत्पन्न हुन्छ र खादा फुडपोइजन हुन्छ। 

रेस्टुरेन्ट वा होटलमा खाना खानै जानुपर्‍यो भने राम्रो किसिमका रेस्टुरेन्ट/होटल छान्नुपर्छ। बरु थोरै महँगो किन नहोस्, तर जहाँ पायो त्यहीँ खाना/खाजा खानु हुँदैन। विश्वासिलो र सरसफाइलाई प्रथमिकता राखेका धेरै मानिस जाने र ताजा खानेकुरा पाइने ठाउँमा जानुपर्छ। 

खानपानको सम्बन्ध सीधै हाम्रो स्वास्थ्यसँग जोडिएकाले खाना खाने ठाउँ कस्तो छ भनेर विचार पुर्‍याउनैपर्छ। 

त्यस्तै यात्रा गर्दा सकेसम्म बाहिरका खानेकुरा नखाने। किनभने बाहिरका खानेकुरामा धेरै किसिमका अखाद्य पदार्थ मिसावट गरिएको हुन्छ, जुन खाँदा पखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, पेट ढुस्स हुने हुनसक्छ। 

(पोषणविद् डा. अरुणा उप्रेतीसँग समृद्धा केसीले गरेको कुराकानीमा आधारित) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .