मानवअधिकारवादी संस्था इन्सेकले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्भीकतापूर्वक अनुसन्धान हुनुपर्ने बताएको छ।
सो प्रकरणलाई संगठित अपराधको संज्ञा दिँदै निर्भीकतापूर्वक अनुसन्धान गर्ने कर्तव्य पालनाका लागि राज्यका संयन्त्रमाथि कुनै पनि किसिमको व्यवधान खडा नहोस् भन्नेमा सजग रहन सबै दलका नेतृत्वसँग इन्सेकले माग गरेको छ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिमा नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन प्रकृया प्रमुख दलहरूका उच्चस्तरीय राजनीतिक नेतृत्वको तथाकथित सहमतिका कारण टुङ्गोमा नपुग्ने सर्वव्यापक आशङ्का गम्भीर चिन्ताको विषय बन्न पुगेको उल्लेख छ।
विधायक र उच्च पदस्थ राजनीतिक व्यक्तित्वहरूसहित राज्य संयन्त्रको संलग्नतामा भएको नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधको जरासम्मै छानबिन भई सम्पूर्ण आरोपितहरूमाथि कानुनी कारबाही हुन सकेन भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमासमेत आउनसक्ने गम्भीर परिणामको अन्तिम जिम्मेवारी लोकतन्त्र र गणतन्त्र स्थापनाको अगुवाइ गर्ने दलहरूले नै लिनुपर्ने कुरा इन्सेकले सम्झाएको छ ।
इन्सेकले प्रेस विज्ञप्तिमार्फत नेपाल प्रहरी तथा राज्यका अन्य अंगबाट हालसम्म भएको अनुसन्धान कार्यको सराहना पनि गरेको छ।
Shares
प्रतिक्रिया