नक्कली शरणार्थी खडा गरेर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको छ।
यो कसुरमा पक्राउ परेका १६ जनाविरुद्ध कुनकुन कसुरमा मुद्दा चलाउने भन्ने रायसहितको प्रतिवेदन आइतबार बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले बताए।
‘टोलीले आज प्रतिवेदन बुझाउने गरी फायलिङको काम गरिरहेको छ’, एसपी रिजालले भने, ‘आज प्रतिवेदन बुझाउछौँ।’
प्रहरीले ठगी र संगठित अपराधको कसुमा अनुसन्धान गरिरहेको छ। संगठित अपराधमा अनुसन्धान गर्न प्रहरीले ६० दिन म्याद पाउँछ। चैत १२ गतेबाट प्रहरीले आरोपिलाई पक्राउ गरेर अनुसन्धान थालेको हो।
सुरुमा ठगीको कसुरमा मात्रै अनुसन्धान थालेको प्रहरीले पछि संगठित अपराधको कसुरमा अनुसन्धान गर्न भन्दै म्याद थप गरेको थियो। यो प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन्। अन्य एकदर्जन बढी फरार रहेको प्रहरीले जनाएको छ।
तर क–कसलाई कस्तो कसुरमा मुद्दा चलाउने भन्ने निश्चित अभियोग दर्तामा मात्रै हुन्छ। अभियोग दर्ता जिल्ला सरकारी वकिल कार्यालयले गर्छ। प्रहरी प्रतिवेदनको आधारमा वकिल कार्यालयले आगामी १० गतेसम्ममा अदालतमा अभियोग दर्ता गर्नेछ।
उनीहरुलाई संगठित अपराधसँगै, ठगी र किर्तेमा पनि मुद्दा चलाउने निश्चित छ। यस्तै राज्यविरुद्धको कसुरमा पनि मुद्दा चलाउने सम्भावना रहेको प्रहरीले जनाएको छ।
शरणार्थीका नाममा ठगी गरेको भन्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, हज कमिटिका अध्यक्ष शमशेर मिया र शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन्।
यस्तै सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, टोपबहादुरका छोरा सन्दीप रायमाझी, गोबिन्द चौधरी र रामशरण केसी हिरासतमा छन्। मुद्दासँगै उनहरुलाई पनि बुझाइने छ।
सरकारी वकिल कार्यालयले अभियोग दर्ता गरेपछि उनीहरुको अदालतमा बयान गराउने कार्य हुनेछ। त्यसपछि थुनछेक बहस सुरु हुनेछ।
जिल्ला अदालतले मुद्दाको फैसला गरुन्जेल उनीहरुलाई थुनामै राख्ने कि थुनाबाहिर राखेर फैसला गर्ने भन्ने आदेश दिनेछ।
Shares
प्रतिक्रिया