ad ad

समाज


सन्दीपको मुद्दामा भएन फैसला, मागियो किशोरीको जन्मदर्ताको सक्कलै फाइल

सन्दीपको मुद्दामा भएन फैसला, मागियो किशोरीको जन्मदर्ताको सक्कलै फाइल

फाइल तस्बिर


नेपालखबर
जेठ ७, २०८० आइतबार १६:४८, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा आइतबार अन्तिम सुनुवाइ भएर पनि फैसला रोकिएको छ।

यसअघि पनि पटक पटक पेशी तोकिएर सुनुवाइ हुन नसकेको यो मुद्दा आइतबार न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा तोकिएको थियो।

तर अदालतले दुवै पक्षको बहस सुनसकेपछि सन्दीपविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गराएकी किशोरी गौशाला २६ को जन्मदर्ताको सक्कलै फाइल मगाउन आदेश दिएको छ।

न्यायाधीश पराजुलीको इजलासले किशोरीको जन्म दर्ता भएको भनिएको वडा कार्यालयको सक्कलै फाइल हेरिसकेपछि मात्रै यो मुद्दामा अन्तिम निर्णय दिने निर्णय लिएको हो। 

यो प्रकरणमा यसअघि वडा कार्यालयले अदालतलाई जन्मदर्ताको प्रतिलिपिसहित जवाफ पठाएको थियो। तर यस पटक अदालतले उक्त जन्मदर्ताको सक्कलै फाइल मगाएकोहो।

सर्वोच्च अदालतले यो मुद्दाको अन्तिम टुंगो फास्ट ट्रयाकमा टुंग्याउन निर्देशनात्मक आदेश दिएको थियो। तर सर्वोच्चको आदेश आएको तीन महिना बितिसक्दा पनि जिल्ला अदालत काठमाडौंले टुंगो लगाउन सकेको छैन। 

यसअघि अघिल्लो वर्ष भदौमा लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

तर जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई गत पुस २९ गते २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो।

उच्च अदालतले सन्दीपलाई काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान भने प्रतिबन्ध लगाउने आदेश गरेको थियो। 

त्यसविरुद्ध दुवै पक्ष सर्वोच्च पुगेका थिए। सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान लागेको प्रतिबन्ध फुकुवा गर्दै यो मुद्दा तत्काल टुंग्याउन जिल्ला अदालतलाई आदेश दिएको थियो।

सर्वोच्चको आदेशसँगै सन्दीप दुबईमा क्रिकेट खेलेर फर्किएका थिए। 

सन्दीपविरुद्ध गत भदौमा एक किशोरीले जबरजस्ती करणीको आरोप लगाएकी थिइन्। त्यतिबेला विदेशमा रहेका सन्दीप उजुरी परेको एक महिनापछि स्वदेश फर्किएका थिए।

उनलाई विमानस्थलबाटै प्रहरीले पक्राउ गरेर मुद्दाको अनुसन्धान गरेको थियो। उच्च अदालतको आदेशपछि सन्दीप रिहा भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .