नक्कली शरणार्थी प्रकरणमा गत जेठ १ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध आइतवार एकैदिन पाँच उजुरी परेका छन्।
यो प्रकरणमा पक्राउ परेका १६ जनासँगको बयान र आवश्यक प्रमाणसहित जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिलसमक्ष मुद्दाको फाइल बुझाउनै लाग्दा आङटावाविरुद्ध उजुरी परेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान कार्कीले हाल हिरासतमा रहेका आङटावाविरुद्ध चार पाँचजनाले उजुरी दर्ता गराएको जानकारी दिए।
उजुरीकर्ता पीडितहरुले आङटावा पक्राउ परेको सूचना आफूहरुले शनिबार मात्रै थाहा पाएकाले आइतबार प्रहरीमा आइपुगेको बताएका छन्। आङटावाविरुद्ध उजुरी दिएका पीडितहरुले आफूहरुबाट जनही ६ लाखभन्दा धेरै ठगी गरेको दाबी गरेका छन्।
शेर्पा हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। उनीसहित पक्राउ परेका १६ जनाविरुद्ध प्रहरीले आइतवार काठमाडौं जिल्ला अदालतबाट थप तीन दिनको म्याद लिइसकेको छ।
भुटानी शरणार्थीका नाममा ठगी गरेको आरोपमा अदालतबाट उनीविरुद्ध वैशाख २९ गते पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी हुनुपहिले नै फरार भएका शेर्पा आफैं प्रहरी कार्यालयमा उपस्थित भएका थिए।
पक्राउ पुर्जी जारी भएको सूचना र प्रहरीले खोजी गर्न थालेपछि आङटावा कम्बल बोकेर आफैँ प्रहरीमा पुगेका थिए। त्यसपछि प्रहरीले सोधपुछ गर्दा नक्कली शरणार्थी प्रकरणमा उनको संलग्नता खुलेको थियो। प्रहरीले उनलाई त्यही दिन हिरासतमा लिएको थियो।
यसअघि आङटावाविरुद्ध कुनै उजुरी परेको थिएन। तर प्रहरीले सकेसम्म आइतबार नै मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा बुझाउन तयारी गरिरहँदा उनीविरुद्ध उजुरी आएको हो।
Shares
प्रतिक्रिया