नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध अभियोग दायर गरेको छ।
जिल्ला अदालत काठमाडौंमा बुधबार दायर अभियोगमा पक्राउ परेका १६सहित ३० जनालाई प्रतिवादी बनाइएको छ।
उनीहरुविरुद्ध ५ वटा कसुरमा सजाय माग गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणि नेउपानेका अनुसार ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ।
अभियोगमा प्रतिवादीका बयानसँगै अन्य प्रमाण समेत पेश गरिएको छ। प्रतिवादीहरुका मोवाइलमा भेटिएका प्रमाण र आर्थिक लेनदेन मुख्य प्रमाण देखिएका छन्।
मुख्य अभियुक्तमध्येका एक सानु भण्डारीको मोबाइलमा भने पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, पूर्व गृहसचिव प्रेमकुमार राई र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई रकम बुझाएको भन्ने उल्लेख छ। यीमध्ये टोपबहादुर पक्राउ परिसकेका छन्।
तर बादल र प्रेमकुमार राईलाई भने प्रतिवादी बनाइएको छैन। बयानमासमेत उनीहरुको नानम उल्लेख छ।
तर प्रहरीले प्रमाण अपुग भएको भन्दै तत्कालका लागि प्रतिवादी बनाएको छैन। प्रमाण जुटे पछि पुरक अभियोग लैजाने विकल्प भने खुल्ला छ।
सानु भण्डारीको सामसुङ कम्पनीको मोवाइल डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गर्दा केही प्रमाण फेला परेका छन्।
जसमा भुटानी शरणार्थीसम्बन्धी समाचारदेखि मन्त्रिपरिषदको निर्णयसमेत आदानप्रदान भएको पाइएको छ।
संकेत साटुलाभा कम्पनीको मोबाइल परीक्षण गर्दा उक्त मोबाइलको इनबक्समा एउटा नम्बरबाट म्यासेज आएको छ। जसमा लेखिएको छ, ‘पैसा र यति टर्चर दिएको छ' नि म मर्दा मात्र मेरो आत्माले शान्ति पाउनेछ।’
यस्तै संकेत नं. सा १ मोबाइलमा फेला परेको अडिओ रेकर्डमा केसब मामा भन्ने फाइलमा ‘माथि खर्च लाग्छ। केशव दुलाल र सानु भण्डारीले १५० जनाको लिएर खाएको छ। हामीले नगर्ने हामीलाई पनि हुनुपर्यो भनेका छन्।’
यस्तै अडिओ रेकर्ड इम्पोटेन्ट फाइल रेकर्डमा ‘प्रेम राई, बादल, टोपबहादुर रायमाझीलाई ५ करोड दिएको, मिलाएर १६२९ जनाको फायल पास गराउनुपर्छ। यो कुरा बाहिर आयो भने बर्बाद हुन्छ। दुलालको दुक्कीतिर्की मान्छेहरु छन्। यो प्रोजेक्ट जसरी पनि पास गराउनुपर्छ। यो सबै काम मैले गर्ने हो। मबाहेक कसैले सक्दैन।’
यस्तै टोपबहादुर रायमाझीसँग भएको कुराकानीको पनि प्रमाण फेला परेको छ। मोबाइलमा टोप मामा भनेर नम्बर सेभ छ। टोपमामा भन्ने अडिओ कुराकानीमा एक जना भट्टराईसँग कुरा भएको छ।
‘भट्टराई भाइ, सम्पुर्ण रकम बुझिलिएँ’, भनी उल्लेख छ। यस्तै लेनदेनको हिसाबको फोटो र टेकनारायण पाण्डेसँग भाइबरमा कुराकानी गरेको समेत भेटिएको छ।
Shares
प्रतिक्रिया