ad ad

समाज


गर्मीबारे मौसमविद् भन्छन्– देशको पूर्वी क्षेत्रमा भने आजदेखि केही राहत हुने सम्भावना छ

काठमाडौंमा पनि वर्षाको सम्भावना
गर्मीबारे मौसमविद् भन्छन्– देशको पूर्वी क्षेत्रमा भने आजदेखि केही राहत हुने सम्भावना छ

फाइल तस्बिर


नेपालखबर
जेठ २७, २०८० शनिबार ७:५९, काठमाडौँ

आज (शनिबार) देखि देशको पूर्वी क्षेत्रमा भने तापक्रम केही घट्ने र जारी गर्मीमा राहत पुग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसमविद्का अनुसार बादल नलाग्ने, पानी नपर्ने भएको दुई हप्ताभन्दा बढी भइसक्यो। जसले गर्दा देशभर तापक्रम तथा गर्मी बढेको छ। पहाडी क्षेत्रमा भने छिटपुट रूपमा भए पनि पानी परेकाले तराईको तुलनामा गर्मी केही कम छ। तर तराईमा मौसम बदली र वर्षा ठप्प भएकाले अत्यधिक गर्मी भई जनजीवन कष्टकर बनेको छ। त्यहाँ केही दिनदेखि तातो हावा/लु पनि चलिरहेको छ। 

तर आजदेखि पूर्वी क्षेत्रमा भने बादल देखिने तथा हल्का वर्षा हुने सम्भावना देखिएकाले जारी गर्मीमा केही राहत पुग्ने अनुमान गरिएको महाशाखाका मौसमविद् वरुण पौडेल बताउँछन्। 

‘बंगालको खाडीमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशको पूर्वी क्षेत्रमा भने बदली र वर्षाको सम्भावना देखिएको छ’, मौसमविद् पौडेलले भने, ‘त्यसले गर्दा त्यता तापक्रम केही घट्ने र गर्मीमा राहत पुग्ने सम्भावना देखिन्छ।’

उनका अनुसार कोशी प्रदेश र मधेश प्रदेशका पूर्वी भागसम्म त्यो प्रणालीको प्रभाव पर्ने देखिएको छ। जसका कारण केही मात्रामा भए पनि बदली र वर्षा भई गर्मीमा राहत पुग्ने सम्भावना छ। 

‘पूर्वी क्षेत्रमा २/४ दिनभित्र मनसुन (पानी पार्ने तथा वर्षायाम सुरु गराउने मौसमी प्रणाली) प्रवेश गर्ने सम्भावना पनि देखिएको छ’, उनले भने, ‘तर मध्य र पश्चिम तराईमा भने अझै केही दिन बदली र वर्षाको सम्भावना देखिएको छैन, जसका कारण तापक्रम घट्ने देखिन्न।’

मौसम महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा (खुला आकाश) रहनेछ। कोशी र कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

यस्तै राति कोशीप्रदेश लगायत देशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका  एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

काठमाडौंमा पनि आज वर्षाको सम्भावना
आज साँझपख काठमाडौं उपत्यकामा पनि बादल लाग्ने र छिटपुट वर्षा हुने सम्भावना देखिएको मौसमविद् वरुण पौडेलले बताए। 

‘तर तापक्रम नै घट्ने सम्भावना भने देखिन्न’, उनले भने।  

काठमाडौंमा बिहानैदेखि गर्मी हुने गरेको छ। मौसमविद् पौडेलका अनुसार आज बिहान पौने ६ बजेको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० डिग्री सेल्सियस देखिएको छ। शुक्रबार अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस मापन गरिएको छ। आज पनि यही अनुपातमा अधिकतम तापक्रम रहने अनुमान गरिएको मौसमविद् पौडेलले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .