नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सन्दीप रायमाझीका तर्फबाट अदालतमा बहस सुरु भएको छ।
उक्त प्रकरणको मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतमा सन्दीपको प्रतिरक्षामा अधिवक्ता ईश्वरी भट्टराईले बहस गरिरहेकी छन्।
सन्दीप पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन्। टोपबहादुर पनि सोही प्रकरणमा पक्राउ परेका छन्। उनका तर्फबाट भने यसअघि नै बहस भइसकेको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने आश्वासन दिई लाखौँ ठगी गरेको अभियोमा रायमाझीका बाउछोरासहित ३० जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
सरकारी वकिल र पीडितका तर्फबाट बहस सकिएपछि अहिले हिरासतमा रहेका १८ प्रतिवादीको प्रतिरक्षामा बहस भइरहेको हो।
अभियुक्तहरुका पक्षबाट वकिलहरुले गत बुधबारदेखि बहस गरिरहेका हुन्। अहिलेसम्म टोपबहादुरसहित केशव दुलाल, सानु भण्डारी, टंक गुरु, सन्देश शर्मा, सागर राई र इन्द्रजित राईका तर्फबाट बहस सकिएको छ।
अब पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डेलगायतका तर्फबाट बहस हुन बाँकी छ।
जारी थुनछेक बहसले पुर्पक्षका लागि अभियुक्तलाई जेल पठाउने वा कारागारबाहिर राख्ने भन्ने आदेश आउनेछ। १८ अभियुक्तका तर्फबाट बहसका लागि मंगलबारसम्मको समय तोकिएको छ। यसपछि बुधबार सरकारी वकिलले जवाफी बहस गर्नेछन् भने सोही दिन थुनछेक आदेश दिने न्यायाधीशले बताएका छन्।
Shares
प्रतिक्रिया