ad ad

समाज


प्रतिरक्षा बहसका लागि बाँकी दिन २, बाँकी प्रतिवादीको संख्या ९

चार दिनमा ९ जनाका तर्फबाट मात्र बहस
प्रतिरक्षा बहसका लागि बाँकी दिन २, बाँकी प्रतिवादीको संख्या ९

प्रस्तुत तस्बिरमा पक्राउ परेका २ अभियुक्त लक्ष्मी महर्जन र हरिभक्त महर्जन छैनन्।


नेपालखबर
जेठ २९, २०८० सोमबार ९:३०, काठमाडौँ

नक्कली शरणार्थीसम्बन्धी मुद्दामा पक्राउ परेका १८ अभियुक्तका पक्षमा थुनछेक बहसका लागि छुट्याइएको समय अब २ दिन मात्र बाँकी छ। तर अझै ९ जनाका तर्फबाट प्रतिरक्षा बहस गर्न बाँकी छ। 

काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसअन्तर्गत गत बुधबारदेखि अभियुक्तका पक्षमा बहस भइरहेको हो। तर आइतबारसम्म अर्थात् (शनिबार बिदा) चार दिनमा १८ अभियुक्तमध्ये आधा अर्थात् ९ जनाका वकिलले मात्र बहस सकेका छन्। बहसका लागि तोकिएको समय अब २ दिन (सोमबार र मंगलबार) मात्र बाँकी रहँदा अझै ९ अभियुक्तको प्रतिरक्षा बहस गर्न बाँकी छ। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रतिवादीका तर्फबाट बहसका लागि जम्मा ६ दिन छुट्याएको छ। जुन भोलि मंगलबार पूरा हुँदै छ। 

न्यौपाने इजलासले मंगलबारसम्म प्रतिवादीकातर्फबाट बहस सकाउने गरी निर्धारण गरेको समय–तालिकाअनुसार बुधबार सरकारी वकिलले जवाफी बहस सक्ने र त्यही दिन थुनछेक आदेश जारी गर्नुपर्नेछ। तर नौ अभियुक्तका लागि बहस गर्न ४ दिन लागेकाले बाँकी ९ जनाको प्रतिरक्षा बहस २ दिनमा कसरी सकिएला भन्ने प्रश्न उब्जिएको छ। 

यसैबीच आज सोमबार सुरुमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसीका तर्फबाट प्रतिरक्षा बहस हुँदै छ।

उनीसँगै अब पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, पूर्वसभासद् आङटावा शेर्पा, गोविन्द चौधरी, रामशरण केसी, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, शरणार्थी नेता टेकनाथ रिजाल, ललितपुरमा हरिभक्त महर्जन र लक्ष्मी महर्जनका तर्फबाट बहस हुन बाँकी छ। 

आइतबारसम्म केशव दुलाल, सानु भण्डारी, सागर राई, टंक गुरुङ, इन्द्रजित राई, सन्देश शर्मा, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी र टेकनारायण पाण्डेका तर्फबाट वकिलहरूले प्रतिरक्षा बहस सकेका छन्।  

आइतबारको बहसका क्रममा पनि न्यायाधीश न्यौपानेले मंगलबारसम्म सबै बहस सकिसक्न भनेका छन्। 

यो मुद्दामा ३० जनालाई प्रतिवादी बनाइएको छ। तर पक्राउ परेका १८ जना प्रतिवादीका वकिलले मात्रै बहस गर्नेछन्। 

त्यसपछि उनीहरुलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा राख्ने भन्ने आदेश न्यायाधीश न्यौपानेले दिने छन्। 

यसअघि प्रहरीले अनुसन्धान गर्दा एकअर्काबीच आरोप-प्रत्यारोपमा उत्रिएका प्रतिवादीहरुले अदालतमा बयान गराउँदा कसुर नै अस्वीकार गरे। कसैले पनि प्रकरणमा संलग्नता स्वीकार गरेनन्। 

अहिले वकिलहरुको बहस पनि अदालतमा गरिएको त्यही इन्कारी बयानमा केन्द्रित छ। प्रतिवादीका वकिलहरुले आफ्नो पक्ष संलग्न नरहेको जिकिर गरिरहेका छन्। 

यो मुद्दाका १८ प्रतिवादी पनि हरेक दिन इजलासमा बसेर बहस सुनिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .